उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । जापानका विदेश मन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा आउँदै छन्। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लागेका हुन्। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।

भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। विदेशमन्त्री कामिकावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नेछन्।

भ्रमणका क्रममा उनले काठमाडौँ दरबार क्षेत्रको समेत अवलोकन गर्ने बताइएको छ। उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। विदेशमन्त्री कामिकावा भ्रमण सम्पन्न गरी आजै राति जापानका लागि प्रस्थान गर्नेछन्।

विश्वमा विकसित र समृद्ध एसियाली मुलुकका रुपमा स्थापित जापानसँगको नेपालको सम्बन्ध अठारौं शताब्दीको अन्त्यतिर सुरु भएको हो। सन् १९५६ सेम्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापनासँगै यो सम्बन्ध औपचारिक बनेको हो।

कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा आफ्नो दूतावास स्थापना गरेको थियो भने जापानले सन् १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो। त्यसयता दुई देशबीचको सम्बन्ध निरन्तर मित्रता, सद्भावना र सहयोगले चिनिएको छ। जापान नेपालको लामो समयदेखिको मित्रराष्ट्र र प्रमुख विकास साझेदार हो।

दुवै देशले सन् २०१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हीरक जयन्ती विभिन्न कार्यक्रम आयोजनाका साथ उच्चस्तरीय भ्रमण आदानप्रदान गरी मनाएका थिए। जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले दुई देशबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको बताए। उनका अनुसार जनस्तरमा बढ्दो संलग्नताले यी सम्बन्धलाई थप विस्तार गर्न योगदान दिएको छ।

Logo