झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार

झापामा आठ सय ८५ इजाजत प्राप्त हतियार

केन्द्रबिन्दु
70
Shares

झापा । मुलुकमा पछिल्लो समय कुनै हिंसात्मक द्वन्द्वको अवस्था छैन। व्यक्तिगत असुरक्षा निम्तिने कुनै त्रासदी नहुँदा पनि झापाली सर्वसाधारणले ठूलो सङ्ख्यामा निजी बन्दुक राखेको पाइएको छ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापामा सर्वसाधारणले आठ सय ८५ वटा निजी हतियार (बन्दुक) राख्न इजाजत लिएको बताए। उनका अनुसार भरुवा बन्दुकदेखि अर्धस्वचालित हतियार नागरिकसँग रहेको पाइएको छ।

“सुरक्षा चुनौती विश्लेषण गरेर मात्र जिल्ला प्रशासन कार्यालयले व्यक्तिलाई हातहतियार राख्न इजाजत दिने गर्दछ। खरखजना ऐन, २०१९ र नियमावली २०२८ ले सर्वसाधारणले इजाजत लिएर व्यक्तिगत सुरक्षाका लागि हतियार राख्न पाउने व्यवस्था गरेको छ”, प्रजिअ बाँस्तोलाले भने।

यसरी राखिएका हतियार जथाभावी चलाउन र सार्वजनिक रुपमा प्रदर्शन गर्न नपाइने उनको भनाइ छ। पाँच वर्षसम्म नवीकरण नभएका हतियारको इजाजतपत्र रद्द गरी जफत गर्न सकिने कानुनी व्यवस्था रहेको प्रजिअ बाँस्तोलाले जानकारी दिए।

झापामा इजाजत लिएर हतियार राख्ने सर्वसाधारणले नियमित रुपमा कानुनबमोजिम नवीकरण गरेका नगरेका भन्दै चालु आवमा एक सय ३० जनाले मात्र इजाजतपत्र नवीकरण गरेका उनले जानकारी दिए।

मेडिकल व्यवसायी दुर्गा प्रसार्इंका निजी सुरक्षाकर्मीले बोकेको अर्धस्वचालित हतियार सर्वोच्च अदालत परिसरभित्र बरामद भएपछि निजी हतियारको इजाजतसम्बन्धी जनचासो बढेको छ। उक्त घटनापछि प्रसाईंले हतियार राख्न लिएको इजाजतपत्रको छानबिन भएको छभने देशैभरिका प्रशासन कार्यालयले हतियारको इजाजतलाई व्यवस्थित बनाएका छन्। साथै त्यस्ता हतियारको अभिलेख राख्ने र इजाजतको पुनरावलोकन गर्ने कार्य भइरहेको जनाइएको छ।

झापास्थित प्रशासन कार्यालयले सूचना जारी गर्दै इजाजत लिएर हतियार राखेका व्यक्तिलाई इजाजत नवीकरणका लागि हतियारसहित प्रशासन कार्यालय आउन अनुरोध गरेको छ। कतिपयले जिल्लाबाहिर इजाजत नवीकरण गरेको भए सोको जानकारी गराउन समेत प्रशासनले आग्रह गरेको छ।

Skip This
Logo