निरन्तर सुन तस्करी: चैत र वैशाखमा विमानस्थलबाट समातियो ५२ किलो सुन

निरन्तर सुन तस्करी: चैत र वैशाखमा विमानस्थलबाट समातियो ५२ किलो सुन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने संगठित गिरोहलाई प्रहरीले पटक–पटक पक्राउ गर्दै आएको छ। यही वर्ष भेपमा ९ र ब्रेक सुमा ६१ किलो सुन तस्करी भएका ठूला तस्करीका मुद्दा ताजै छन् भने ६ वर्षअघि सार्वजनिक भएको ३३ किलो सुन प्रकरणले समेत काठमाडौं विमानस्थल भएर सुन तस्करीका गिरोह सक्रिय भएको पुष्टि गर्छन्।

यी प्रकरण सार्वजनिक भएपछि तस्करी नियन्त्रणमा प्रहरी र गृह प्रशासनले विभिन्न प्रयास गर्दै आएको दाबी गर्छन्। तर तस्करका गिरोह भने अझै उत्तिकै सक्रिय छन्। पछिल्लो दुई महिना चैत र वैशाखमा मात्रै विमानस्थलमा खटिएका प्रहरीले ५२ किलोभन्दा बढी सुन बरामद गरेको छ। अवैधरुपमा सुनको ओसारपसारमा कडाइ गरिएपनि त्यो पूर्णरुपमा रोकिन सकेको छैन।

सशस्त्र प्रहरीका अनुसार २०८० को चैत र २०८१ को वैशाखमा महिनामा मात्रै विमानस्थलबाट ६ करोड ८७ लाख ७८ हजार ७३५ बराबरको ५२.७२९ किलो सुन बरामद गरी भन्सार दाखिला गरिएको छ। यसअवधिमा अवैध सुन ओसारपसार गर्ने २२ जना पक्राउ परेका छन्।

प्रहरीले अवैध ओसार पसारमा संलग्न १७ वटा ठूला र १५ वटा साना गरी ३२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभाग र कार्यालयमा पठाएको छ। त्यस्तै, सो अवधिमा राजस्व अनुसन्धान विभाग र मातहतका कार्यालयहरूसँगको समन्वयमा संयुक्त रूपमा ९२ वटा ठूला र ५५ वटा साना गरी एक सय ४७ वटा सवारी साधन नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभाग/कार्यालयहरूमा पठाएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले चैतमा १२ करोड ७२ लाख एक हजार दुई सय १२ र वैशाख महिनामा १४ करोड ६० लाख २४ हजार ८८ रुपैयाँ बराबरको अवैध रूपमा आयात निर्यात भएको र बिल बिजक नभएको सामान जफत गरी भन्सारमा दाखिला गरेको छ।

सशस्त्र प्रहरीले चैतमा कूल ४० करोड ६६ लाख १० हजार ७३ रुपैयाँ बराबरको राजस्व दाखिला गरेको छ भने वैशाखमा ५२ करोड ९७ लाख ७ हजार दुई सय ५३ रुपैयाँ बराबर राजस्व दाखिला गरेको छ। अवैध मालसामान बरामद चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायतबाट राजस्व संकलन भएको हो।

त्यसरी अवैध ओसारपसारमा संलग्न ८९ जनालाई प्रक्राउ गरिएको र सो बापत् ३४ करोड ६९ लाख ८९ हजार पाँच सय ३१ रुपैयाँ बराबरको सामान भन्सार÷राजश्व अनुसन्धान विभागमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

Logo