रुकुम हत्याकाण्डको चार वर्ष पूरा

रुकुम हत्याकाण्डको चार वर्ष पूरा

सुर्खेतमा आज बृहत् दलित जागरण सभा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । जातीय भेदभावका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती ठाउँमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको चार वर्ष पूरा भएको छ।

१० जेठ २०७७ मा सोती गाउँमा आफ्नी प्रेमिकालाई भगाएर विहे गर्न गएका २१ वर्षीय नवराज विक र उनका साथीहरूलाई गाउँले मिलेर कुटपिट र हत्या गरी भेरीमा बगाइदिएका थिए। कथित उच्च जातकी युवतीसँग विवाह गर्न लागेको भन्दै उनकी प्रेमिकाका आफन्त र गाउँले मिलेर नवराजसहित उनका साथीहरूलाई कुटपिट र हत्या गरेका थिए।

घटनामा नवराजसहित चार दलित र दुई गैरदलित गरी छ जना युवाको ज्यान गएको थियो भने ११ जना नवराजका साथीहरू घाइते भएका थिए। सो हत्याकाण्डमा ३४ जनाविरु४ सामुहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव लगाएको अभियोगमो मुद्दा दायर गरिएको थियो।

जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५मा उनीहरूमध्ये २४ जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने आठ जनालाई सफाई दिएको थियो। अदालतले विककी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतको कसुरमा दुई वर्षको कैद र ५०,००० रुपैयाँ जरिवाना तोकेको थियो।

घटनामा परेर जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित उनका साथीहरू गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीले ज्यान गुमाएका थिए। जेठ १० को साँझ ५ बजेतिर भएको घटनाको अर्को दिनबाट भेरी नदीमा शव भेटिन सुरु भएको थियो।

घटनाबारे गृह मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको छानबिन समिति, राष्ट्रिय मानवअधिकार आयोगले केन्द्रबाट पठाएको अनुसन्धान टोली र स्थानीय प्रहरी प्रशासनले अनुसन्धान गरेका थिए। राष्ट्रिय मानवअधिकार आयोगले आफ्नोे अनुसन्धानमा उक्त घटनाको प्रमुख कारण जातीय भेदभाव र छुवाछुत भएको निष्कर्ष निकालेको थियो।

विभिन्न सामाजिक संघसंस्था, मानवअधिकारकर्मी र पत्रकारहरूले पनि घटनाको स्थलगत अवलोकनपछि जातीय भेदभावकै कारण घटना भएको निष्कर्ष निकालेका थिए।

जातीय भेदभाव र छुवाछुतकै कारण यति ठूलो घटना भएको र घटनामा संलग्नले अदालतबाट न्याय पाएपनि समाजमा अझै पनि उस्तै सामाजिक व्यवस्था रहेको भन्दै सो दिनलाई सामाजिक न्यायका पक्षधरहरूले कालो दिनकारुपमा लिने गरेका छन् भने अधिकारकर्मीहरूले प्रतिरोध दिवसकारुपमा मनाउने गरेका छन्।

जेठ १० को त्यही घटनालाई स्मरण गर्दै बिहीबार काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम हुँदैछन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सो घटनाका पीडितका आफन्तहरू समेतको उपस्थितिमा विशेष दलित जागरण सभा हुँदैछ। दलितका लागि दलित आन्दोलनले बिहीबार वीरेन्द्रनगरस्थित घण्टाघरमा बृहत् सभा गदैछ। सभामा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहितले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा नवराजसहित छ जना युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कर्णालीमा अन्तरजातीय विवाह गर्ने दम्पतीहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत छ।

दलितका लागि दलित आन्दोलनका संयोजक खगेन्द्र सुनारले जागरण सभामा देशभरिबाट दलितहरूको सहभागिता हुँदै गरेको बताए। ‘जेठ १० को त्यो हत्याकाण्ड एउटा घटना वा हत्याकाण्ड मात्रै थिएन, त्यसले देशको १५ प्रतिशत जनसंख्या भएको समुदायमाथि शताब्दीऔँदेखिको अन्याय र विभेदको स्वरुपलाई छताछुल्ल बनाएको थियो। सामाजिक न्याय र सद्भाव चाहने समुदायमाथि प्रहार भएको थियो,’ सुनारले भने, ‘त्यसकारण पनि नवराजहरुको मृत्यु सामान्य होइन, हुन सक्दैन। यो हामीले भुल्न सक्ने, भुल्न मिल्ने घटना होइन।’

उनले नवराजलाई अदालतले न्याय दिएको, तर मुद्दा भने बल्ल सुरुवात भएको बताए। ‘नवराज विक र उनका साथीहरुलाई न्याय मिलेको छ। तर समाजमा जातीय भेदभाव र छुवाछुत निरन्तर छ। यस्तो कलंकित प्रथा समाजमा निरन्तर हुँदासम्म यो मुद्दा सकिदैन,’ उनले भने।

काठमाडौंमा जात व्यवस्था उन्मूलन मोर्चाले सोही घटनाको स्मरणमा जात व्यवस्थाविरुद्धको विद्रोह दिवसकारुपमा सप्ताहव्यापी कार्यक्रम गरेको छ। जात व्यवस्था उन्मूलन मोर्चा, संयुक्त दलित अधिकार मञ्च, एकीकृत दलित मुक्ति मोर्चा र नेपाल राष्ट्रिय दलित केन्द्रले संयुक्तरुपमा जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाएका हुन्। सो सन्दर्भमा बिहीबार दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछन्।

Logo