दाङका दुई विद्यालय निर्माणमा भारतीय सहयोग

दाङका दुई विद्यालय निर्माणमा भारतीय सहयोग

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । दाङको लमही नगरपालिकास्थित बाल जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण भारतीय दूताबासले सहयोग गरेको छ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु १.७६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको उक्त बाल जनता माध्यमिक विद्यालयकोे विद्यालय भवनको शुक्रबार उदघाट गरियो।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न बहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

त्यस्तै ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु २.८७ करोड आर्थिक सहयोगमा निर्माण गरिएको दाङको घोराही उप–महानगरपालिकास्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय भवनको उदघाटन गरिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख शर्मा, घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो।

भारत सरकारको अनुदान सहयोग बाल जनता माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, प्रयोगशाला उपकरण, फर्निचर र दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको छ। पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको छ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो। जिल्ला समन्वय समिति, दाङमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको थियो।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख, दाङका उप–महानगरपालिका र लमही नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५ सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४ सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ।

लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन् जसमा ६ वटा परियोजना दाङमा छन्। यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार नौंवटा एम्बुलेन्स र तीनसय वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये लुम्बिनी प्रदेशलाई १ सय ६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ। यसमा १९ वटा एम्बुलेन्स र पाँचवटा स्कुल बस दाङ जिल्लालाई उपलब्ध गराइएको छ।

Skip This
Logo