पत्रकार महासंघ विवादमा, केन्द्रीय कार्यालयमा तालाबन्दी

पत्रकार महासंघ विवादमा, केन्द्रीय कार्यालयमा तालाबन्दी

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ विवादमा फसेको छ । नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २६ गते हुने निर्वाचन नजिकिदै गर्दा महासंघ विवादमा फसेको हो ।

विधि, विधान र प्रक्रियाविपरीत केन्द्रीय समितिले सदस्यता सूची सार्वजनिक गरेको भन्दै विभिन्न संगठनहरुले विरोधस्वरुप विभिन्न जिल्ला शाखा र केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । प्रेस युनियनका नेता रमेश खतिवडाले तालाबन्दीको सुरुवात गरेपछि अन्य संगठनले त्यसमा साथ दिएका छन् ।

त्यसलगत्तै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । जसमा नेपाल प्रेस युनियन समर्थित पत्रकारहरुले पनि साथ दिएका छन् ।

महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमबार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गरिएको हो ।

निर्वाचन आगामी जेठ २६ गते हुँदैछ । गत जेठ ८ गतेको सहमतिविपरीत महासंघले गैर पत्रकारहरूलाई समेटेर महासंघको निर्वाचनलाई प्रभावित गर्ने गरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याएकाले खारेजीको माग गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी लगाउनु परेको संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए ।

त्यस्तै, प्रेस युनियनले पनि विभिन्न जिल्ला शाखाहरु तालाबन्दी गरिदिएको छ । उदयपुर, अछाम, काठमाडौं लगायतका केही जिल्लामा तालाबन्दी भएको छ । युनियनले महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीद्वारा हस्ताक्षर गरी सार्वजनिक भएको सदस्यता सूचीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अध्यक्ष र महासचिवले महासंघको विधानअनुसार शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक गरेको सदस्यता सूची प्रेस युनियनले अस्वीकार गर्दछौं ।’

महासंघका अध्यक्ष र महासचिवले सक्रिय पत्रकारहरुलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको युनियनले ठहर गर्दै यस कार्यको घोर आपत्ति गरेको जनाएको हाे ।

साथै महासंघको विधान र महाधिवेशनको म्यान्डेडअनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासंघकै संगठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट सूची तयार पारिएकाले प्रेस युनियनले असहमति जनाएको हो ।
‘विधान, विधि, प्रक्रिया अनुसार नेपाल पत्रकार महासंघकै शाखाहरु र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न युनियन माग गर्दछ,’ महासचिव दिलिप पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रेस युनियनले आपत्ति जनाउँदै सदस्यता विवाद निरुपण नगरी युनियनको आग्रहलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं नेपाल पत्रकार महासंघ नै हुनुपर्ने जनाएको छ ।

Logo