काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिन चाहने सेवाग्राहीले विगत तीन सातादेखि नयाँ आवेदन दिन पाएका छैनन्।
काठमाडौं उपत्यकामा सवारी चालक अनुमति पत्र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले मापदण्ड नपुगेको भन्दै ट्रायल सेन्टर बन्द गरेपछि सेवाग्राहीले नयाँ आवेदन दिन पाएका छैनन्।
यातायात व्यवस्था कार्यालय चाबहिल, ठूलो भर्याङ, एकान्तकुना, ललितपुर र राधेराधे भक्तपुरले प्रयोग गर्ने निजी क्षेत्रले सञ्चालन गरेका ट्रायल सेन्टर गत जेठ ३ देखि बन्द भएका छन्। सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ बमोजिम उक्त ट्रायल सेन्टरहरू सञ्चालन नभएको भन्दै राष्ट्रिय सर्तकता केन्द्रले बन्द गर्न निर्देशन दिएको थियो। अहिले दैनिक नयाँ लाइसेन्सको माग दुई हजार बढी रहेको यातायात व्यवस्था विभागले जनाएको छ।
छिट्टै नै ट्रायल सेन्टर खोलेर रोकिएका ट्रायललाई नियमित गरिने यातायात व्यवस्था विभागको भनाइ छ। अहिलेसम्म सरकारबाट सञ्चालित आफ्नै ट्रायल सेन्टर भने छैन।
ट्रायलमा हुने गरेको सेटिङ रोक्न ‘एडीटीटी’ (अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक) प्रविधि आवश्यक रहेको यातायात व्यवस्था विभागले जनाएको छ। यो प्रविधि लागू गर्न विभागले वाग्मती प्रदेशको यातायात मन्त्रालयलाई जेठ ८ मा पत्र लेखेर पठाइसकेको छ।































प्रतिक्रिया