राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण: वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान

राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण: वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै सम्पन्न स्विटजरल्यान्डको भ्रमण र जारी सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणले यी दुई मुलुकसँग नेपालको सम्बन्ध विस्तार तथा नवीकरणमा महत्वपूर्ण योगदान पुगेको छ।

हाल बर्लिनमा रहेका राष्ट्रपति पौडेललाई जर्मनी सरकारले गरेको भव्य स्वागत र न्यानो आतिथ्यताले नेपालप्रति जर्मनीको सद्भाव प्रतिविम्बित भएको छ। त्यहाँका राष्ट्रपति डा फ्राङ्क–वाल्टर स्टाइनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही असार १ गते जर्मनी भ्रमणमा गएका थिए।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति डा स्टाइनमेयरबीच सोमबार भएको द्विपक्षीय वार्तामा जर्मनी सरकारले खुलेर सहयोग गर्ने वचन दिनुले पनि नेपालप्रतिको जर्मनीको सद्भाव दर्शाएको छ। भेटवार्तामा दुवै राष्ट्रपतिले विकास सहयोग, व्यापार, पर्यटन, लगानी र व्यावसायिक तालिममा केन्द्रित रहेर समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गरेका थिए।

राष्ट्रपति पौडेलले आफ्नो देशको कृषि, पर्यटन, जलस्रोतलगायत विकासका प्राथमिकतालाई प्रकाश पार्दै यी क्षेत्रमा जर्मनीको सहयोग र लगानीलाई प्रोत्साहन गरेका थिए।

राष्ट्रपति पौडेलले आफ्ना जर्मन समकक्षीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। जर्मनीको एकीकरण तथा नेपालमा प्रजातन्त्र पुनःस्थापना एकै वर्ष भएको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकासमन्त्रीका रुपमा जर्मनको भ्रमण गरेको स्मरण गरेका थिए।

भ्रमणले नेपाल–जर्मनीबीचको द्विपक्षीय सम्बन्ध मात्र नभई सम्पूर्ण युरोपमा नै नेपालको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुगेको विश्वास गरिएको छ। राजनीतिक विश्लेषक डा चन्द्रदेव भट्टले नेपालबाट लामो समयपछि जर्मनीमा भएको राष्ट्रप्रमुख तहको भ्रमणलाई महत्वका साथ हेर्नुपर्ने बताए।

उनले भने, “पछिल्लो समय युरोपसँग हाम्रो सम्बन्धमा अपेक्षाकृत प्रगाढ हुन सकेको छैन, व्यक्तिगत रुपमा सम्बन्ध बढ्दै गए पनि सरकारका तर्फबाट जुन ‘इन्गेजमेन्ट’ हुनुपर्ने हो, त्यो हुन सकेको छैन। यस्तो अवस्थामा भएको उच्चस्तरीय भ्रमणले सम्बन्धलाई नवीकरण गर्छ।”

Logo