प्रस्तावित निर्वाचन आयुक्तबारे संसदीय सुनुवाइ आजदेखि

प्रस्तावित निर्वाचन आयुक्तबारे संसदीय सुनुवाइ आजदेखि

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्तबारे आजदेखि संसदीय सुनुवाइ प्रारम्भ हुँदैछ।

दिउँसो १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरेका कृष्णमान प्रधानका विषयमा सार्वजनिक सुनुवाइ प्रारम्भ गर्दैछ।

गत आइतबार संवैधानिक परिषद्ले प्रधानलाई आयोगको सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो। काठमाडौं महानगरपालिका–११ बबरमहलका प्रधानको नियुक्ति सिफारिसको विषय विवादित छ। उनीमाथि यौन दुव्र्यवहारको आरोपमा अदालतमा मुद्दासमेत चलेको भन्दै उनको नियुक्तिका विषयमा प्रश्न उठेका छन्।

संविधानको धारा २४५ को उपधारा ६ बमोजिम निर्वाचन आयोगको आयुक्त हुन आवश्यक पर्ने योग्यतामा ‘उच्च नैतिक चरित्र भएको’ व्यक्ति हुनुपर्ने उल्लेख छ। तर संवैधानिक परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा नैतिक पतन हुने गरी फौजदारी अभियोगमा अदालतमा मुद्दा दर्ता भएर अदालती प्रक्रियाबाट मिलापत्रको फैसला गराएका प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रधानविरुद्ध काभ्रे धुलिखेलकी एक महिलाले २०८० भदौ २४ गते जिल्ला अदालत काठमाडौंमा यौन दुव्र्यवहार गरेको (दफा २२४) सम्बन्धी मुद्दा दर्ता गराएकी थिइन्। सो मुद्दामा न्यायाधीश केशवप्रसाद अधिकारीले २०८० भदौ २९ मा मिलापत्र गराएका थिए। सर्वोच्च अदालतले आफ्नो अभिलेखमा सो मुद्दाको फैसलामा ‘मिलापत्र’ गरिएको भन्ने उल्लेख गरेको छ।

संविधानको धारा २९२ ले संवैधानिक परिषद्को सिफारिसमा नियुक्ति हुने पदहरुमा नियुक्त हुनुअघि संघीय कानून बमोजिम संसदीय सुनुवाई हुनुपर्ने व्यवस्था गरेको छ। सोहीअनुसार शुक्रबारदेखि संसदीय सुनुवाइ समितिले प्रधानमाथि सुनुवाई प्रारम्भ गर्न लागेको हो।

संघीय संसद्का सदस्यहरु सम्मिलित संसदीय सुनुवाई समितिमा छलफल हुँदा दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने व्यवस्था छ। हाल काठमाडौंको बबरमहलका स्थायीबासी प्रधान नुवाकोटका हुन्। उनी २०२४ साल भदौ ११ मा नुवाकोटको चन्दनीमा जन्मेका हुन्। उनी नेपाल कानून समाजमा २०४८ सालदेखि निरन्तर कार्यकारी निर्देशक छन्। उनी ग्रामीण विकास प्रतिष्ठानको अध्यक्षमा समेत २०५० सालदेखि निरन्तर छन्।

त्यस्तै, आजै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बस्दैछ। दिउँसो १२:१५ बजे बस्ने बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा संघका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची छ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा निर्माणाधीन संसद् भवन निर्माणको प्रगतिका विषयमा छलफल हुने कार्यसूची छ।

Logo