मीडियाको दुरूपयोग नगर्न प्रेस काउन्सिलका अध्यक्ष बस्नेतको आग्रह

मीडियाको दुरूपयोग नगर्न प्रेस काउन्सिलका अध्यक्ष बस्नेतको आग्रह

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रूपमा मीडियाको दुरूपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् । बिहीबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले गैरजिम्मेवार र आधारहीन सूचना सम्प्रेषण गर्ने युट्युब र अनलाइन मीडियालाई काउन्सिलले निगरानीमा राखेर कारबाही गर्दै आएकाले मीडियाको दुरूपयोग नगर्न सम्बन्धित सबैमा आग्रह गरेका हुन् ।

‘आफूलाई मीडियाको परिचय दिई विभिन्न स्वार्थ पूरा गर्न हावादारी सूचना दिने काम कतिपयबाट भएका छन् । समाजलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधन बन्ने र मलजल गर्ने मीडिया कारबाहीमा परिरहेका छन् ।’ बस्नेतले भने ।

यस्तै उनले योजनावद्ध किसिमले गलत र मिथ्या सूचना दिनु प्रेस स्वतन्त्रताको दुरूपयोग हुने भएकाले त्यस्ता पत्रकारको कार्ड खोस्नेदेखि हदैसम्मको कारबाही गर्ने अभियानमा काउन्सिल जुटेको बताए । उनले स्वतन्त्रताको दुरूपयोग गर्ने मीडियाप्रति जनविश्वास नहुने र आफैँ खुम्चिने समेत बताए । ‘युट्युब र अन्य सामाजिक सञ्जालले आफू कतै, कुनै गलत तत्व वा गिरोहबाट परिचालित त भइरहेका छैनौँ भन्नेतर्फ हमेशा ख्याल गर्नुपर्छ । त्यसरी परिचालित हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो । यस्तोमा काउन्सिलले हस्तक्षेप गर्छ ।’ नयाँ अनलाइन र युट्युब माध्यमका सञ्चालक, सम्पादकहरूसँगको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले ध्यानाकर्षण गराउँदै भने ।

प्रेस काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन कार्यविधि बनाएर वर्गीकरण गरेको छ । विनादर्ता सञ्चालनमा रहेका र आपत्तिजनक तथा गैरजिम्मेवार सञ्जाललाई काउन्सिलले अपराधजन्य कसुरमा कारबाही गर्दै आएको छ । पछिल्लो ३ महिनायता ४९ वटा विभिन्न युट्युब च्यानल काउन्सिलको कारबाहीमा परेका छन् ।

अभिमुखीकरण कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य रामप्रसाद दाहालले पत्रकार आचारसंहिता तथा अनुगमन अधिकृत महेन्द्र सिंहले सञ्चार निर्देशिकाको अवस्थाबारे प्रस्तुति राखेका थिए ।

काउन्सिलले २ वर्षयता अनलाइन सञ्चार माध्यमलाई आचारसंहिता पालनामा केन्द्रित गराउन अभिमुखीकरण कक्षालाई अनिवार्य गराएको छ । साथै, सञ्चारमाध्यमका रूपमा चल्ने युट्युब च्यानललाई समेत दर्ता र पत्रकार आचारसंहिताको कक्षा लिनुपर्ने कार्यविधि बनाइ लागू गरेको छ ।

Logo