काठमाडौँ । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले पशुपति क्षेत्र विकास कोषका विकृति र धर्म विरोधी क्रियाकलाप गरेर पशुपति गौशाला धर्मशालालाई विघटन गराउने प्रयास सनातन धर्मलाई कमजोर बनाउने योजना रहेका भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
अभियानले आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै अदालतमा प्रवेश गरेको विवादलाई अदालतबाट अन्तिम निर्णय नपर्खी काठमाडौँ महानगरपालिकासँग सम्झौता गर्नु हिन्दु धर्म, संस्कृति र परम्परामाथि प्रहार भएको बताएको हो ।
‘पशुपति क्षेत्र विकास कोषका विकृति र धर्म विरोधी क्रियाकलापका बीचमा पशुपति गौशाला धर्मशालालाई विघटन गराउने प्रयास सनातन धर्मलाई कमजोर गराउने योजना कै निरन्तरता देखिन्छ । विसं १९९७ बाट गौ–सेवा सञ्चालन गर्दै सनातन धर्मको सेवा गर्ने गौशाला पशुपतिनाथ कै अभिन्न अंग झै हुन पुगेको देखिन्छ । अदालतमा प्रवेश गरेको विवादलाई सम्मानित अदालतबाट अन्तिम निर्णय नपर्खी काठमाडौँ महानगरपालिकासँग सम्झौता गर्नु हिन्दु धर्म, संस्कृति र परम्परामाथि प्रहार हो भन्न सकिन्छ । अप्राकृतिक ढङ्गबाट महानगरपालिका र कोषबीचको सम्झौताले कानुनको उल्लंघनका साथै पशुपति क्षेत्रका भक्तजनहरूमा त्रासपूर्ण वातावरण उत्पन्न हुन गई शान्ति सुरक्षालाई आघात पुग्न गएको छ,’ हिन्दू जागरण अभियानले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
विश्वभरबाट आउने हिन्दू श्रद्धालुहरूको बसोबास र भोजनको व्यवस्थापन सँगै गौशालामा गौपालन हुँदै गरेको र झण्डै एकसय जना मृगौला रोगीको निःशुल्क डायलाइसिस भइरहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौता विपरीत महानगरपालिकालाई सञ्चालनको जिम्मा दिएकोप्रति अभियानले चिन्ता र चासो व्यक्त गरेको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिशनरीहरूको भर्ती केन्द्र बनेको समेत अभियानको ठहर छ ।































प्रतिक्रिया