काठमाडौँ । केही दिनयता काठमाडौँका चोक चोकमा ‘नो हर्न’ लेखिएका ‘प्ले कार्ड’ सहित ट्राफिक प्रहरी सवारी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेको छ ।
पछिल्लो समय ट्राफिक प्रहरीले थप सक्रिए भएर सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्न ‘नो हर्न’ अभियानलाई कडाइ गर्दै कारवाहीको साथै सचेतना जगाउने काम गर्दै आएको हो ।
काठमाडौँ उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । “नो हर्न” लाई अभियानकै रुपमा सञ्चालन गर्दै जनचेतनामूलक गोष्ठी, कार्यक्रम, सचेतनामूलक पर्चा पम्प्लेट वितरण, नो हर्न स्टिकर टाँस्ने लगायत व्यापक प्रचारपसार गरी हर्नको अनावश्यक प्रयोगमा कमी ल्याएको थियो ।
सुरुआती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि क्रमशः हर्नको प्रयोगमा केही वृद्धि भए पश्चात् अहिले ट्राफिक प्रहरीले कडाइका साथ कारवाही समेत गर्दै आएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा बजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यवस्था छ । कानूनी व्यवस्था हुँदाहुँदै पनि कतिपय चालकहरुले लापरवाही गरी वा ध्वनी प्रदूषणको असर बारेमा चेतनाको अभावले आम नागरिक वर्षौंदेखि सवारी साधनहरुले उत्पन्न गर्ने कर्कस ध्वनि प्रदूषणको सिकार हुनुपरेको छ ।
अनावश्यक हर्न बजाएर उत्पन्न हुने ध्वनी प्रदूषणलाई कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।
काठमाडौँ उपत्यकामा गुड्ने करिब १५ लाख सवारी साधनहरुबाट निस्किने धुवाँसँगै ध्वनीको प्रदूषणको कारण जनस्वास्थ्यमा ठूलो असर गरेको छ जसको प्रत्यक्ष मारमा स्वयं ट्राफिक प्रहरी रहने गरेको डिआजी बोहराले प्रष्ट्याए ।
गत आव २०८०–८१ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १० हजार १२३ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ भने यस वर्ष मात्र १३ हजार तीन सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यही कार्तिक १ गतेदेखि ट्राफिक प्रहरीले हर्न निषेधलाई थप कडाई गर्दै चोक जक्सनमा नो हर्न प्ले कार्ड सहित सचेतना अभिवृद्धि गर्ने कार्य गर्दै आएको छ । त्यसयता ९६६ जना अनावश्यक हर्नको प्रयोग गरेको कसुरमा कारवाही गरेको छ ।
सामान्यत मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुने र सुन्नका लागि ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य हुन्छ भने ७० डेसिबलको ध्वनी स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।
ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने लगायत असर गर्ने गर्दछ । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढि ध्वनी प्रदुषण गर्ने गरेको छ ।
जथाभावी हर्न वजाउदा पैदलयात्री बिशेषगरि बालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला, अशक्त बिरामीहरुको जनस्वास्थ्यमा बढी असर गर्ने विषयलाई समेत ध्यान दिँदै नियमित निगरानी र कारवाही गरिँदै आएको ट्राफिक प्रहरीका प्रवक्ता डिएसपी रवीन कार्कीले बताए ।





























प्रतिक्रिया