काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्धा रूपन्देही अदालतका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा परेको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन लामिछाने श्रीमती निकिता पौडेलसहित मंगलबार साँझ भैरहवा पुगेका थिए । उनको आज नै बयान तथा थुनछेक बहस हुनेछ । लामिछाने अदालतमा उपस्थित हुँदा अदालत क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
लामिछानेमाथि सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।
प्रहरीले पूरक अनुसन्धान गरेर मुद्दामा चलाउन राय दिएएपछि सरकारी वकिल कार्यालयले लामिछाने, गोर्खा मिडिया नेटवर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको हो । रवि र छविका साझेदार एवम् सुप्रिमका सञ्चालक जीबी राई, सप्रिमकै अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका व्यवस्थापक सागर केसी र कुमार रम्तेलसहित २८ जनालाई सहकारी ठगीसम्बन्धी कसुरमा ०८१ वैशाख ३ गते पहिलो पटक मुद्दा दर्ता भएको थियो ।
उक्त सहकारीबाट करिब २ हजार बचतकर्ताको ८६ करोड १८ लाख २३ हजारभन्दा बढी रकम हिनामिना भएको पाइएको छ । त्यसमध्ये सुप्रिमबाट १४ करोड ३० लाख रुपैयाँ साँवा गोर्खा मिडिया नेटवर्कमा लगानी भएको सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन समितिको ठहर छ ।





























प्रतिक्रिया