काठमाडाैं । नेपाल बार एशाेसिएसनकाे आयाेजनामा यहि फागुन ३ गते देखि ५ गतेसम्म ‘पाँचाैं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ सञ्चालन हुने भएकाे छ ।
सम्मेलनको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले यहि फागुन ४ गते उद्घाटन गर्नेछन् । उक्त अन्तर्राष्ट्रिय मानवाधिक सम्मेलनमा ल एशियाका सदस्य तथा गैर सदस्यहरू समेत गरि ३६ भन्दा बढि देशका ३०० भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनमा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको विशेष आतिथ्यता हुनेछ ।
नेपालमा लोकतन्त्र, कानूनी शासनको स्थापना, मानव अधिकारको प्रवर्द्धन, र न्यायपालिकाको स्वतन्त्रतामा महत्वपूर्ण योगदान दिएका राष्ट्रपति पौडेलको उपस्थितिले यस सम्मेलनको गरिमा बढाएको ल एशिया र नेपाल बार एसोशिएसनले विश्वास लिएको छ ।
राष्ट्रपति पौडेलको न्यायप्रतिको समर्पण र सबै व्यक्तिहरूको अधिकारको पक्षमा उनको व्यापक अनुभवले यस कार्यक्रमको महत्त्वलाई उजागर गर्दछ। उनको दृष्टिकोण र नेतृत्वले मानवाधिकारको बिबिध आयामहरुमा हुने छलफलहरूलाई समृद्ध बनाउनेछ र सबै सहभागीहरूलाई प्रेरित गर्नेछ ।
यस वर्षको सम्मेलनको विषयवस्तु “मानव अधिकारको सहनशीलता: प्राविधिक, वातावरणीय, र सामाजिक चुनौतीहरूको सामना” रहेको छ जसले समसामयिक मानव अधिकार मुद्दाहरूलाई सम्बोधन गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। सम्मेलनमा एक पूर्ण सत्र (प्लेनरी) र मानव अधिकार, वातावरणीय न्याय र आदिवासी जनजाति र समुदायका अधिकारहरू समेत गरि जम्मा तीन ट्र्याकहरूमा १४ वटा विषयगत सत्रहरू हुनेछन् ।
ल एशियाका अध्यक्ष वरिष्ठ अधिवक्ता श्याम दिवानले कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै भने, “हामीलाई लवासियाको संस्थापक सदस्य नेपाल बार एसोसिएसनले काठमाडौँमा लवासिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनको ५औं संस्करण आयोजना गर्न पाउँदा खुशी लागेको छ। हामी विश्वभर वकिलहरूको उपस्थितिले समृद्ध हुने यो सम्मेलन नेपाल बार एसोसिएसनको समर्थनमा यो लक्षलाई अझ अघि बढाउनेमा विश्वस्त छौं ।”
उनी अगाडी भन्छन्, “ल एशिया र नेपालको सम्बन्ध धेरै गहिरो छ। ल एशियाको उद्घाटन सम्मेलन १९६६ मा हुँदा नेपाल बार एसोसिएसनका प्रतिनिधिहरूले सहभागीता जनाएका थिए । जसबाट लामो समयसम्मको सम्बन्धको सुरुवात भएको थियो । नेपालको न्यायपालिका र स्वतन्त्र बारले मानव अधिकार, वातावरण, असल शासन र सार्वजनिक कानुनका क्षेत्रमा पथब्रेकिङ निर्णयहरू जारी राखेको छ। नेपाल बार एसोसिएसन र यसको ऊर्जावान नेतृत्वले यस सम्मेलनको लागि मानव अधिकार, वातावरणीय न्याय र आदिवासी समुदायहरूको अधिकारका बिषयहरू समेटिएको एक समृद्ध अजेण्डा तयार गरेको छ । बलियो स्थानीय र अन्तर्राष्ट्रिय विशेषज्ञतासहितको विविध दायरा बोकेको वक्ताहरूको उपस्थितिले नेपालभरका कानुन व्यवसायीहरूलाई निःसन्देह आकर्षित गर्नेछ ।”
त्यस्तै, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले थपे, “यो सम्मेलन संवाद र सहकार्यको लागि एक महत्वपूर्ण मञ्च हो, जसले हामीलाई हाम्रो समयका ज्वलन्त मानव अधिकार चुनौतीहरूलाई सामना गर्न सशक्त बनाउँछ । हामी यस महत्वपूर्ण कार्यक्रमको आयोजना गर्न पाउँदा सम्मानित महसुस गरेका छौं । विश्वभरका न्यायपालिका, कानून व्यवसायी, मानवाधिकारकर्मीहरुको सहभागिता नेपालमा हुने यस अन्तराष्ट्रिय सम्मेलनले नेपालको मानवाधिकार संरक्षण र प्रबर्धनमा महत्वपूर्ण योगदा पुग्ने विश्वास हामीले लिएका छौँ ।”
सम्मेलनको सुरुवात फेब्रुअरी १५ को साँझमा सबै प्रतिनिधिहरूका लागि स्वागत डिनरबाट हुनेछ र राष्ट्रपति पौडेलले फेब्रुअरी १६ मा सम्मेलनको औपचारिक उद्घाटन गर्नेछन् । फेब्रुअरी १६ र १७ मा एक पूर्ण सत्र र १४ वटा सत्रहरू हुनेछन् ।





























प्रतिक्रिया