काठमाडौं । पछिल्लो ३ वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार ६ सय ६६ अनलाइन सञ्चारमाध्यम सूचीकरण भएका छन् ।
नयाँ खुलेका अनलाइनका सम्पादक र सञ्चालकहरुलाई पत्रकार आचारसंहिताको अभिमुखिकरण दिने क्रममा काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो । विभिन्न पृष्ठभूमीबाट सञ्चार क्षेत्रमा प्रवेश गर्नेहरुलाई पत्रकार आचारसंहिताको दृष्टिकोणबाट लिइने यस्ता कक्षा उपयोगी हुने प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए ।
‘स्वच्छ, मर्यादित, तथ्यपूर्ण र विवादरहित पत्रकारिताका लागि हरेक सञ्चारकर्मीले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ,’ काउन्सिलमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै बस्नेतले भने ।
उनले प्रेसले पाएको स्वतन्त्रताको अर्थ जथाभावी अधिकार वा स्वच्छन्दता नभएको प्रसङ्ग ल्याउँदै युट्युवसहित सामाजिक सञ्जाल प्रयोग हुने सबै सञ्चारमाध्यम जिम्मेवार हुनुपर्ने बताए । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सञ्चारकर्मी स्वंयको हात महत्वपूर्ण हुन्छ । अपूर्ण, मिथ्या, कमजोर र असन्तुलित सूचना सम्प्रेषणले प्रेस जगतलाई नै कमजोर बनाउँछ । यसतर्फ काउन्सिल सचेत भई जिम्मेवारपूर्ण ढंगले काम गर्दै आएको छ । अभिमुखिकरण कक्षा यसैको एउटा श्रृंखला हो,’ उनले भने ।
कार्यक्रममा अग्रज पत्रकार एवं गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले विषयवस्तुमाथि सहजीकरण गरेका थिए ।
पर्याप्त मेहनतसहित निष्पक्ष ढंगले गरिने पत्रकारिताले नै विश्वसनीयता बढाउने अग्रज पत्रकार भट्टराईको सुझाव थियो । उनले पत्रकार तथा सञ्चारमाध्यमले गर्न नहुने विभिन्न कामको प्रकास पारेका थिए ।
भुसालले काउन्सिलले विभिन्न समयमा जारी गरेका सञ्चार निर्देशिकाहरुमा केन्द्रित रहेर अन्तर्क्रिया गरेका थिए ।
२०७८ चैतदेखि नियमित रुपमा सञ्चालन अभिमुखिकरण कक्षा सञ्चालन हुँदै आएको काउन्सिलका शाखा अधिकृत सुवास राईले जानकारी दिए । अनलाइन सञ्चारमाध्यम सञ्चालन हुनु अघि सञ्चालक र सम्पादकलाई अनिवार्य रुपमा अभिमुखिकरणमा सहभागी हुनुपर्ने व्यवस्था काउन्सिलले गरेको छ । पत्रकार आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई पनि काउन्सिलले यस्तो कक्षामा सहभागी गराउँदै आएको छ ।





























प्रतिक्रिया