जात व्यवस्थाबारे बहस गर्ने नयाँ टिभी कार्यक्रम आजदेखि प्रसारणमा

जात व्यवस्थाबारे बहस गर्ने नयाँ टिभी कार्यक्रम आजदेखि प्रसारणमा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । जातको आधारमा हुने विभेद अन्त्यका लागि संगठित अभियान ‘दलित लाइभ्स म्याटर’ ले जातीय विभेद, हिंसा र बहिष्करणबारे बहस गर्ने टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भरसेसन’(जात संवाद) सुरू गर्ने भएको छ ।

आजदेखि साँझ ९ः३० बजे हिमालय टेलिभिजन र दलित लाइभ्स म्याटर्सको युट्युब च्यानलबाट प्रसारण हुने कार्यक्रमको पहिलो सिजन १२ भागको हुनेछ ।

कार्यक्रममा सातै प्रदेशका युवा प्रतिनिधिहरूको सहभागिता रहनेछ, जसमा विभिन्न समुदाय, लिङ्ग, भाषा, आस्था र शारीरिक अवस्थाका व्यक्तिहरूले आफ्नो अनुभव र विचार राख्नेछन् । हरेक अंकमा सात जना सहभागी रहनेछन्, जसले जात व्यवस्थासँग जोडिएका लैङ्गिकता, प्रेम र विवाह, जमिनको स्वामित्व, कला र साहित्य, प्रविधि, न्याय, शिक्षा लगायतका विविध विषयमा छलफल गर्नेछन् ।

कार्यक्रमबारे जानकारी दिन विज्ञप्ती जारी गर्दै दलित लाइभ्स म्याटर्सका संस्थापक तथा कार्यक्रमका कार्यकारी उत्पादक प्रदीप परियारले जात व्यवस्थाका विविध पक्षबारे गम्भीर बहस हुन नसकेको अवस्थामा यो कार्यक्रमले नयाँ बहसको थालनी गर्ने विश्वास ब्यक्त गरेका छन् । कार्यक्रमको निर्देशन शान्ता नेपालीले गरेकी छिन् भने वृद्धिका सेञ्च्युरीले सञ्चालन गर्नेछिन् ।

Logo