काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराईले पदको दुरुपयोग गरेको भन्दै छानविनको माग राखेर आन्दोलन गर्ने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको हो । निर्देशकको भट्टराईले आफ्नो पदीय अधिकारको दुरुपयोग गरी चरम आर्थिक अनियमितता तथा नियम विपरीतका विभिन्न एकल निर्णयहरुसमेत गरेको विषयमा बारम्बार खेलकुदमन्त्रीसमक्ष कुरा राख्दा पनि बेवास्ता गरेकाले आन्दोलनको तयारी थालिएको नेपाल स्काउट शुद्धिकरण अभियानका संयोजक देवदूत अधिकारीले जानकारी दिए ।
खेलकुदमन्त्री तेजुलाल चौधरीसँग भेटेर बारम्बार छानविन गर्न अनुरोध गरेपनि चासो नदेखाएपछि आन्दोलनको बाटो रोज्न बाध्य भएको उनको भनाई छ ।
विश्व स्काउट सम्मेलन इजिप्टमा सहभागी हुँदा गरेको खर्चको विवरण यथार्थ नभएको आवश्यक संख्याभन्दा बढि सामग्री खरिद गरेको भनी बिल मात्र पेश गरी भुक्तानी लिएको आरोपसमेत भटराईमाथि छ ।
त्यसैगरी निर्देशकले सवारी साधन सुविधाअन्तर्गत ड्राईभर, मोबिल र ईन्धन सुविधा नेपाल स्काउटको विद्यमान ऐन कानून विपरित लिएको पनि उनीहरुको आरोप छ । विभिन्न ४ बुँदामा छानविन गर्नुपर्ने माग राखी उनीहरुले आन्दोलनको तयारी गरेका हुन् ।
नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउटको केन्द्रिय कार्यालयमा मंगलबार १ घण्टा शान्तिपूर्वक धर्ना दिने कार्यतालिका रहेको छ । यदि यसलाई नजरअन्दाज गरेमा रिले आन्दोलन र अनसन बस्ने पनि चेतावनी दिएका छन् ।





























प्रतिक्रिया