लमजुङ । खानेपानीमन्त्री प्रदीप यादवले लमजुङको बेसीशहरका नागरिकको खानेपानीको समस्या तत्कालका लागि अन्त्य भएको बताएका छन् ।
आज लमजुङको बेसीशहर स्थित सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले बेशीसहरमा देखिएको खानेपानीको समस्या समाधान गरिनुका साथै यहाँका नागरिकले बाह्रै महिना अर्थात २४ घण्टा स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने बताएका हुन् ।
उनले भने, ‘कुनै पनि समाजको समृद्धि स्वस्थ जीवनशैलीको आधार स्वच्छ पानी हो । तर, विगतमा लमजुङको बेसीशहर नगरपालिकाका नागरिकहरूले खानेपानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको थियो । पानीको अभावका कारण यहाँको बसाइ कठिन थियो, तर आजको दिनले यहाँ नयाँ युगको सुरुवात गरेको छ ।’
नेपाल सरकारको नीति नै नागरिकलाई सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा उपलब्ध गराएको हुनाले देशका दुर्गम क्षेत्र सहित लमजुङका नागरिकको खानेपानीको समस्या सधैका लागि समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘देशका हिमाल, पहाड, तराइँ सहित विभिन्न दुर्गम क्षेत्रका नागरिकहरूको खानेपानीको समस्या सधैका लागि समाधान गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको छ ।’
त्यसैगरी मन्त्री यादले संघीय सरकार, उपभोक्ता समिति र स्थानीय समुदायको साझा प्रतिबद्धता, सहकार्य र परिश्रमको फलस्वरूप आज बेसीशहरमा यो महत्त्वपूर्ण सफलता हासिल गर्न सफल भएको भन्दै खुशी समेत व्यक्त गरे ।
नगर विकास कोषबाट लिइने ऋणमा ब्याजदर कम गर्न पहल गरिरहेको र यसले उपभोक्ताहरूलाई आर्थिक रूपमा थप सहज बनाउने विश्वास लिएको बताउँदै उनले खानेपानी सेवाको विस्तार तथा नवप्रवर्तनका लागि आवश्यक स्रोत सुनिश्चित गर्न मन्त्रालयले दीर्घकालीन योजना बनाउने बताए ।
उनले भने, ‘हाल सह–लगानी मोडेलमा उपभोक्ताले ३० प्रतिसत योगदान गर्नुपरेको भएता पनि अब सरकारले नीति परिमार्जन गर्दै निर्देशिका तयार गरि यो अनुपातलाई ८५/१५ मा रूपान्तरण गरिसकेको तर जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन म प्रतिबद्ध छु ।’





























प्रतिक्रिया