काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानकर्ताहरुले स्काउटको केन्द्रिय कार्यालयका ताला लगाएका छन् । माग पूरा नभएपछि अभियानकर्ताहरुले लैनचौरस्थीत केन्द्रिय कार्यालयमा ताला लगाएका हुन् ।
अहिले उक्त कार्यालयमा निर्देशक रामप्रसाद भट्टराई लगायत अन्य कर्मचारीलाई प्रवेश निषेध गरिएको छ ।
अभियानकर्ताहरुले स्काउटका निर्देशक भट्टराईले गरेको आर्थिक हिनामिना र स्काउटमा आबद्ध महिलालाई दुर्व्यवहार गरेको आरोपमाथि छानविन गर्नुपर्ने माग राखी चैत्र १ गतेदेखि रिले अनशन बसेका थिए । तर सम्बन्धित निकायले माग पुरा गर्ने चासो नदेखाएपछि अभियानका संयोजक देवदूत अधिकारी र सदस्य पवन गुरुङ आमरण अनशन बसेका छन् ।
केन्द्रिय कार्यालयको ढोका छेउमा आमरण अनशन बसेका उनीहरुले गत शुक्रबारदेखि कार्यालयमा ताला लगाएका हुन् । १३ गतेदेखि आमरण अनशन बसेका अभियानका संयोजक देवदूत अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था आएको थियो ।
तर पनि खेलकुद मन्त्रालयबाट कुनै प्रतिकृया नआएपछि ताला लगाइएको अभियानका प्रवक्ता आशिक कार्कीले बताए । उनले भने– ‘हामी चैत १ देखि १२ गते सम्म रिले अनशन गरेका थियौं । १३ गते देखि आमरण अनशनमा छौं । तर पनि खेलकुदमन्त्री मुकदर्शक बनिरहनु भएको छ । मन्त्री स्काउटका निर्देशकको बचाउ गरिरहनु भएको छ । ’
नेपाल स्काउट शुद्धीकरण अभियानकर्ताहरुले नेपाल स्काउटभित्र भएका अनियमितताको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र समिति गठन गरिनु पर्ने, स्काउटको कर्मचारी प्रशासन नियमावली २०८१ को पुनरावलोकन गरी कर्मचारी हितलाई संरक्षण गरिनु पर्ने माग राखेका छन् । त्यस्तै, नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि लागेको आरोपको निष्पक्ष छानबिन गरिनु पर्ने र प्रक्रिया नसकिएसम्म उनलाई निलम्बन गर्नुपर्ने र स्काउटको वित्तीय तथा प्रशासनिक प्रक्रिया पारदर्शी बनाई संस्थालाई स्वच्छ, जवाफदेही र लोकतान्त्रिक रूपमा सञ्चालन गरिनु पर्ने उनीहरुको माग छ ।





























प्रतिक्रिया