को हुन् पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना जोडिएको पतञ्जलीका मुख्य नाइके सिंह ?

को हुन् पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना जोडिएको पतञ्जलीका मुख्य नाइके सिंह ?

केन्द्रबिन्दु
168
Shares

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको स्वामित्वमा आउनुपर्ने जग्गा व्यक्तिको नाममा गएको र त्यसक्रममा मन्त्रिपरिषद् नै संलग्न भएको आरोपमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि नै भ्रष्टाचार मुद्दा दायर गरेपछि यतिबेला राजनीतिक वृत्त तरंगित बनेको छ । ललिता निवास प्रकरणलाई बिर्साउने यो जग्गा प्रकरणमा अख्तियारले पञ्चायतकालको अन्त्यपछि मन्त्रिपरिषदकै निर्णयमा प्रश्न उठाएर प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा चलाएको पहिलोपटक हो ।

यो प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ, र १८ करोड भन्दा बढी बिगो मागदाबी गरिएको छ ।

योगी रामदेव, बालकृष्ण आचार्य प्रमुख रहेको भारत र नेपालमा पतञ्जली योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो । हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि पतञ्जलीले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो । त्यसको दुई वर्षपछि १८ माघ, २०६६ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले ललिता निवास अनियमितता प्रकरणलाई समेत ‘माथ’ दिनेगरी बनेपामा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा ८ सय १५ रोपनी जग्गा किन्न अनुमति दिएको थियो । सरकारबाट पाएको हदबन्दी छुटको जग्गा हिनामिना अभियोग पतञ्जलीलाई लागेको हो । अब यहाँ वास्तवमै भन्नुपर्दा पतञ्जलि प्रकरणका मुख्य नाइके भने शालिग्राम सिंह हुन् ।

कम्पनी दर्ता हुँदा भने रामदेव, बालकृष्ण, महन्त राजेन्द्र दास, राजेन्द्र सिंह र शालीग्राम सिंह सञ्चालक थिए । स्थापनाकालदेखि नै नेपालमा पतञ्जलीको हर्ताकर्ताका रूपमा शालीग्राम सिंहले काम गर्दै आएका छन् । २०६६ मा हदबन्दी छुटमा जग्गा किनबेच गर्दा उनीमार्फत नै कारोबार भएको थियो ।

जनकपुरको अति विपन्न परिवारमा जन्मीएका सिंह पेशाले इन्जीनियर हुन् । सुजाता कोइराला र कांग्रेस निकट राजनीतिमा पहुँच पुर्याएका सिंह पतञ्जली योगपीठ नेपालका प्रमुख हुन् । उनी बृहत्तर जनकपुर परिषद्को निवर्तमान अध्यक्ष पनि हुन् । शालिग्राम सिंहले बृहतर जनकपुरमा बजेट खर्च गर्दा कीर्ते कागजका आधारमा गरेका भुक्तानी र यात्री गेष्टहाउसको सम्झौताका गरेको, जनकपुर क्षेत्रविकासका कर्मचारीलाई काठमाडौंमा राखी तलव खुवाउने काम गरेर वनदान पात्रका रुपमा चिनिएका थिए शालिकग्राम । तर धेरैलाई थाहा छैन होला जहाँ जहाँ शालिग्राम पुगे त्यहाँ त्यहाँ कीर्ते र भ्रष्टाचार हुँदैआएको छ । त्यसको ज्वलन्त उदाहरण जनकपुर इन्जीनीयरिङ्ख कलेजदेखि उनको बृहत्तर जनकपुर परिषद हुँदै पतञ्जलीसम्मको यात्रालाई लिन सकिन्छ ।

उनले वृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्को अध्यक्ष हँुदा प्रयोग गरेको गाडी, नगद र जिन्सी अहिलेसम्म बरबुझारत अर्थात् फिर्ता गरेका छैनन् ।

पतञ्जलिका नेपाल प्रमुख समेत रहेका शालिग्रामले पतञ्जलीको तर्फबाट सम्पूर्ण काम गर्ने अख्तियारी पाएका थिए । शालीग्रामले पतञ्जलीको नाममा हदबन्दी छुटमा किनेको जग्गा प्लटिङ गरेको रकम मिटरब्याजमा समेत बेच्ने गरेका थिए ।

मुख्य नाइके सिहं मालपोत कार्यालयदेखि त्यहाँका सरकारी कर्मचारी, गुठी संस्थान, शाखा कार्यालय काभ्रेका कर्मचारी, भूमि सुधार तथा व्यवस्थापन विभागका भूमिसुधार तथा व्यवस्था मन्त्रालयका, मुख्यसचिवदेखि प्रधानमन्त्रीसम्म कार्यलय सम्म फाईल आफै बोकेर पुग्ने गरेका थिए । उनले आर्थिक प्रलोभन र शक्तीको आड र दावमा सबै काम गराउने गरेका थिए ।

शालिग्राम नेताहरु ,कर्मचारीहरु र प्रहरीदेखि प्रशासनसम्म नेक्सस बनाएर बिचौलियाको काम गर्ने व्यक्ति समेत रहेको उनलाई जान्ने चिन्नेहरु बताउँछन् । पतञ्जलीकै नाममा रहेको बैंक खाताबाट २० पुस २०७८ मा ५ करोड मिटरब्याजमा रकम लगानी गरेको आरोप समेत उनीमाथि लागेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका संस्थापक योगी रामदेव र उनका साझेदार आचार्य बालकृष्णलाई बयानका लागि बोलाएको छ । तर जग्गा कारोबारमा पतञ्जलीका नेपाल प्रमुख शालीग्राम सिंह नै जिम्मेवार रहेको भन्दै उनीहरू दुवैले बयान दिन समेत अस्वीकार गरेका थिए ।

सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ कसूर बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम विगो रु. एकाउन्न लाख कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिमको विगो बमोजिम जरिवाना असुल गर्न मागदाबी गरिएको छ ।

Logo