काठमाडौं । सहरी विकास मन्त्रालयले नेपाली कांग्रेसका संस्थापक नेता तथा लौहपुरुषको उपनामले चिनिने गणेशमान सिंहको नाममा स्मृति भवनलगायत विभिन्न पूर्वाधारहरू निर्माण गर्न ७८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा गणेशमान सिंहको नाममा पार्क, स्मृति भवन, खानेपानी ट्यांकी, अध्ययन प्रतिष्ठान तथा सडक पूर्वाधार निर्माणसम्मका योजनाहरू अघि सारिएका छन्।
केही दिनअघि शहरी विकास मन्त्रालयले नेपाल तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा हालसम्म तीन करोड रुपैयाँ बराबरको बजेट प्राप्त भएको जानकारी गराएको थियो ।
दलले एक विज्ञप्ती जारी गर्दै सत्तारुढ दल नेपाली काग्रेंसका सभापति शेरबहादुरदेउवा पहलमा कार्य सम्पन्न आर्थिक सहयोग विनियोजन भएको जानकारी दिएको थियो । यद्यपी हाल भने काठमाडौंमा मात्रै सिंहको नाममा १३ वटा छुट्टाछुट्टै शीर्षकमा बजेट विनियोजन गरिएको छ।
साथै सातै प्रदेशका विभिन्न जिल्लामा सिंहको नाममा कुनै न कुनै योजना छुट्याइएको मन्त्रालयले जनाएको छ।
देशभर गणेशमान सिंह पार्क निर्माण र रहेका पार्कहरूको स्तरोन्नतिका लागि मात्रै ३५ करोड ७२ लाख रूपैयाँ विनियोजन गरिएको छ। बजेट विनियोजनमा सहयोग गरेको भन्दै तरुण दलले शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई पनि धन्यवाद व्यक्त गरेको थियो । शहरी विकास मन्त्री प्रकाशमान सिंह गणेशमान सिंहका छोरा हुन् ।
मितव्ययी बन्ने भन्दै सरकारले नयाँ आयोजनामा बजेट नदिने भनिरहेको बेलामा आफू मन्त्री भएको बेलामा बाबुको नाममा तरुण दलको भवन बनाउने भन्दै बजेट छुट्टाएका हुन्।
गणेशमान सिंह पार्कसम्बन्धी पूर्वाधार निर्माणका लागि मात्र २२ वटा शीर्षकमा बजेट छ। उदाहरणका लागि काठमाडौंको जहरसिंहपौवामा निर्माण हुने गणेशमान सिंह पार्क तथा स्टेडियमका लागि आवश्यक सम्पूर्ण इन्जिनियरिङ कार्यहरू गर्न ३५ लाख ९६ हजार, सोही पार्कको गुरुयोजना तथा आर्किटेक्चरल डिजाइन तयार गर्न १८ लाख, वातावरणीय अध्ययन गर्न १३ लाख ५० हजार र निर्माण कार्यका लागि ४ करोड रूपैयाँ छुट्याइएको छ।
यी चार शीर्षकमा गरी ४ करोड ६७ लाख रूपैयाँ बजेट विनियोजन भएको हो।
त्यस्तै, पाँचथर, धनुषा, बारा, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कैलालीलगायत विभिन्न जिल्लाका पालिकाहरूका वडाहरूमा पार्क तथा बगैँचा निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ। गणेशमान सिंह अध्ययन प्रतिष्ठानका लागि झापा, काठमाडौं र दाङमा ६ वटा आयोजना अघि सारिएका छन्, जसका लागि ८ करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी, सिंहको नाममा काठमाडौं, कास्की, दैलेख, सुर्खेत, रुकुम पश्चिम, सिन्धुपाल्चोक, बझाङ र अछाममा १० वटा स्मृति भवन निर्माण तथा पूर्वाधार स्तरोन्नतिको लागि १६ करोड ५ लाख रूपैयाँ बजेट राखिएको छ । सिंहको नाममा लोकमार्ग, रंगशाला, खानेपानी ट्यांकी तथा बाटो स्तरोन्नतिका लागि थप १७ करोड ६५ लाख रूपैयाँ छुट्याइएको छ।





























प्रतिक्रिया