हेवाखोलाको बेलिब्रिज भाँचिएको घटनामा छानविन गर्न समिति गठन

हेवाखोलाको बेलिब्रिज भाँचिएको घटनामा छानविन गर्न समिति गठन

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम–४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनाबारे छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी पाँच सदस्यीय अध्ययन तथा छानविन समिति गठन गरेका हुन् ।

सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन् ।

समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थाई रुपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानविन गरि ७ दिन भित्रमा प्रतिवेदन पेश गर्ने कार्यभार दिइएको छ । समितिले आजदेखि नै काम शुरु गरिसकेको छ ।

मन्त्री दाहालले उक्त अप्रत्याशित घट्नाप्रति दुःख व्यक्त गर्नुका साथै घाइते मजदूरहरुको ज्यान गएकोप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले उपचाररत घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने गरी व्यवस्था मिलाउन मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. बिजय जैसीलाई निर्देशन समेत दिएका छन् ।

Logo