‘धमिलो पानीमा माछा मार्ने’ प्रयास नगर्न सर्वोच्चका न्यायाधीश पोखरेलको चेतावनी

‘धमिलो पानीमा माछा मार्ने’ प्रयास नगर्न सर्वोच्चका न्यायाधीश पोखरेलको चेतावनी

केन्द्रबिन्दु
81
Shares

काठमाडाैं । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश मेघराज पोखरेलले आफ्नो नाम प्रयोग गरेर ‘धमिलो पानीमा माछा मार्ने’ प्रयास भइरहेको भन्दै यस्तो दुष्प्रयास नगर्न चेतावनी दिएका छन्।

उनले आफ्नो फेसबुक स्टाटसमार्फत शक्ति र पद क्षणिक हुने भन्दै गलत मनसाय राख्नेहरूलाई परिणाम राम्रो नहुने बताएका हुन्।

न्यायाधीश पोखरेलले आफूले नयाँ जिम्मेवारी सम्हालेको छोटो समयमै ‘धमिलो पानीमा माछा मार्न खोज्नेहरू निक्कै हुँदा रहेछन् समाजमा’ भन्ने अनुभव गरेको उल्लेख गर्दै भनेका छन्, ‘मेरै नाम लिएर माछा मार्न प्रयत्न गर्नेहरू पनि सुन्दै छु। मेरो नम्र निवेदन छ, यस्तो दुष्प्रयास कहिल्यै नगर्नुहोला। त्यसले राम्रो परिणाम दिने छैन। यसबाट प्रभावितहरूलाई यस्तो भुलभुलैयामा नपर्न पनि सादर अनुरोध गर्दछु। वचनको संयम र व्यवहारमा शुद्धता अत्यन्त महत्त्वपूर्ण छ। जिब्रो त कुरा भनेर मुखभित्र पसिहाल्छ। त्यसको परिणाम भने बोल्नेले त व्यहोर्नुपर्छ पर्छ, असर पर्नेले पनि अनाहकमा व्यहोर्नुर्छ।’

पोखरेलले कसले र के उद्देश्यले आफ्नो नाम प्रयोग गर्न खोजेको हो भन्ने कुरा स्पष्ट पारेका छैनन्। तर, उनको सन्देशबाट आफ्नो नियुक्तिलाई लिएर भइरहेका टीकाटिप्पणी वा छेडखानीको जवाफ दिन खोजेको बुझिन्छ।

न्याय परिषद्ले पोखरेलसहित तीन जनालाई जेठ २७ गते सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो। उनीहरूले असार २४ गते शपथ लिएका थिए।

Logo