काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले थुनामै राख्न आदेश दिएको छ ।
लामिछानेले बिगो दाबीबाट छुटकारा दिलाई आफूलाई रिहा गर्न माग गर्दै दिएको निवेदनमाथिको सुनुवाईपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले थुनामै राख्न आदेश जारी गरेको हो ।
मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै लामिछानेले साउन १९ गते अदालतमा निवेदन दिएका थिए। जसमा उनले ३ जनाको नाममा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका थिए।
लामिछानेले निवेदनमा भैरहवास्थित कारागारमा आफूलाई भएको कठिनाइ र मानसिक वेदनाबारे सार्वजनिक गरेका थिए । उनले कारागारभित्रको अवस्थालाई चित्रण गर्दै आफूलाई भइरहेको यातनालाई ‘हेर्नेले नदेख्ने र भोग्नेले सहन नसक्ने’ भनी व्यक्त गरेका थिए । ‘म बसेको यो अवस्थाबारे थाहा नपाउने हर कोहीले भन्न सक्छ, अरू कैदीबन्दीलाई गर्मी नहुने तँलाई मात्र हुनेरु म दोहोर्याउन चाहन्छु, अरू कैदीबन्दीहरू सुत्ने बेलामा मात्र कोठामा गए पुग्छ। मेरा लागि यही कोठा नै सिङ्गो जेल हो। म यस्तो यातनामा छ जुन हेर्नेले देख्दैन, भोग्नेले सहन सक्दैन। तैपनि म लड्न तयार छु। तर प्राण नै नरहे म कसरी लडुँला ?’ उनको भनाइ थियो ।
गत चैत २५ गतेदेखि बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि लामिछाने रुपन्देही कारागारमा रहेका छन् । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए । अहिले लामिछानेले फेरि आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएपनि अस्विकार गरेको हो । यो सँगै उनको कारागार बसाई झनै लम्बिएको छ ।





























प्रतिक्रिया