‘इन्डियाज बेस्ट डान्सर ३’ नोर्बु, करण र सुस्मितासँग जोडियो वीटक

‘इन्डियाज बेस्ट डान्सर ३’ नोर्बु, करण र सुस्मितासँग जोडियो वीटक

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालमा दर्ता भएको सामाजिक सञ्जाल वीटकले अन्तर्राष्ट्रिय हिपहप डान्सर नोर्बु तामाङ, सुस्मिता तामाङ र करण सोनारसँग औपचारिक सम्झौता गरेको छ ।

सम्झौताअनुसार, यी डान्सरहरूले वीटकले निर्माण गर्ने म्युजिक भिडियोमा अभिनय गर्नेछन् । नोर्बु र सुस्मिताले अन्तर्राष्ट्रिय डान्स प्रतियोगिताहरूमा सहभागिता जनाउँदै विश्वव्यापी पहिचान बनाएका छन् भने करण सोनार करण डान्स स्टुडियोका सञ्चालक हुन् ।

युवा डान्सर नोर्बु र सुष्मिताले अन्तर्राष्ट्रियस्तरमा नेपाली नृत्य कला चम्काइरहेका छन् । यी दुई युवा डान्सरहरूले भारतको लोकप्रिय रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर ३’ मा आफ्नो प्रदर्शनबाट दर्शक तथा निर्णायकहरूको मन जितेका थिए ।

वीटकको माउ कम्पनी सारांश मिडिया ल्याब्सका प्रमुख सञ्चालक क्षितिज दाहालले डान्स समुदाय र कन्टेन्ट क्रिएटरलाई जोड्ने कार्य भइरहेको बताए । उनले भने, ‘हाम्रो एपमार्फत क्रिएटरहरूको सिर्जनालाई अनलाइन र भौतिक माध्यमबाट प्रस्तुत गर्नेछौँ । तत्काल भुक्तानीको व्यवस्थाले नयाँ सिर्जनालाई प्रोत्साहन गर्नेछ । नोर्बु, सुस्मिता र करणजस्ता कलाकारसँग जोडिएर हिपहप क्रिएटर इकोनोमीलाई संस्थागत रूपमा विकास र विस्तार गर्ने हाम्रो योजना छ ।’

वीटकले आयोजना गर्ने हिपहप डान्स प्रतियोगितामा प्रयोगकर्ताहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागीले आफ्नो हिपहप डान्स भिडियो वीटकमा अपलोड गर्नुपर्नेछ । नोर्बु, सुस्मिता र करणले उत्कृष्ट भिडियो छनोट गर्नेछन् । वीटकले निर्माण गरेको भिडियोसँगै पुरस्कार राशि पनि घोषणा गरिनेछ । वीटक नेपालमा दर्ता भएको भिडियो सेयरिङ सामाजिक सञ्जाल हो ।

यो सञ्जालको सुरुआत सिभिल इन्जिनियर क्षितिज दाहालले गरेका हुन् । सात वर्ष सरकारी जागिरमा बिताएका दाहालले आफ्नै व्यवसाय गर्ने हुटहुटीले सारांश मिडिया ल्याब्स स्थापना गरे । सुरुमा समाचारहरू एकीकृत गर्ने सारांश एप बनाएका उनले पछि भिडियो सेयरिङ र मार्केटप्लेस सुविधासहितको वीटकको अवधारणा ल्याए । उनले भने, ‘नेपालमा भिडियो सेयरिङ एप लोकप्रिय छ, तर हाम्रो आफ्नै थिएन । त्यसैले वीटक बनाएर भिडियो सेयरिङ र सामान बेच्ने सुविधा प्रदान गर्दैछौँ ।’

भक्तपुरको पेप्सीकोलामा कार्यालय रहेको यस सञ्जालमा नेपाल, अमेरिका र भारतको कोलकातामा गरी २५ जनाको टिमले काम गरिरहेको छ । प्रयोगकर्तालाई ‘मनिटाइजेशन’ सुविधा, लालीगुराँसजस्ता गिफ्ट पठाउने सुविधा ल्याउँदैछ । वीटक हाल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध छ । कम्पनीले प्रयोगकर्ता बढेसँगै थप सुविधा र प्लेटफर्महरू विकास गर्ने योजना बनाएको छ ।

Logo