परम गुरु ओशोको अवतरण दिवस विशेष उत्सव कार्यक्रमका साथ मनाइँदै

परम गुरु ओशोको अवतरण दिवस विशेष उत्सव कार्यक्रमका साथ मनाइँदै

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । आध्यात्मिक परम गुरु ओशोको ९४औं अवतरण दिवस विशेष उत्सव कार्यक्रमका साथ मनाइने भएको छ ।

विसं १९८८ मङ्सिर २६ (११ डिसेम्बर १९३१) मा भारत मध्यप्रदेशको कुचवाड़ामा जन्मिएका ओशो, बुद्ध पुरुषहरूको परम्परामा सर्वाधिक दैदीप्यमान तेजस्वी नक्षत्रका रूपमा मानिन्छन्।

जब कुनै बुद्ध पुरुष यो धरतीमा अवतरित हुन्छन्, तब सम्पूर्ण पृथ्वीमा उनीहरूको सुगन्ध र चेतनाको प्रकाश चारैतिर फैलिन्छ । यस्तै महामानव थिए परमगुरु ओशो, जसको अवतरणले यो पृथ्वी ध्यानमय, उत्सवमय र चेतनामय बनेको छ ।

परमगुरु ओशोले संसारलाई ध्यान, प्रेम, उत्सब, करुणा र जागृतिको यस्तो बाटो दिए जो आज पनि करोडौँ मानिसहरूको जीवन उज्यालो पारिरहेको छ। उनका प्रवचन, जीवन–सन्देश र मार्गदर्शनले मानिसलाई भय, दुःख र अज्ञानबाट मुक्त भई उत्सवमय जीवन जिउन प्रेरित गर्दै आएको छ।

हरेक वर्ष डिसेम्बर ११ लाई ओशो प्रेमी तथा सन्यासीहरूले देश–विदेशमा उत्साह, श्रद्धा र उमङ्ग सहित अवतरण दिवसका रूपमा मनाउँछन्। यस दिन ध्यान शिविर, प्रवचन, संगीत, नृत्य र उत्सवको सुगन्धले वातावरण पूर्णतया आनन्दित हुन्छ।

यस वर्ष पनि ओशो प्रेमीहरूले डिसेम्बर ११ को अवतरण महोत्सवलाई भव्य रूपमा मनाउने तयारी गरिरहेका छन् ।

यसैबीच समर्थ गुरु संघ नेपालले पनि उक्त दिवस उत्सव कार्यक्रमका साथ मनाउने भएको छ । दिनको ४ बजेदखि ६ बजेसम्म ध्यान र सांगीतिक प्रस्तुतिसहितका विविध कार्यक्रमहरू आयोजना गर्न लागेको हो ।

समर्थगुरु सङ्घ नेपालले आनन्द र उत्सवपूर्ण जीवनका लागि आवश्यक जीवनशैली रूपान्तरणमा प्रेरक भूमिका निर्वाह गर्दै आएको छ। देशका विभिन्न स्थानमा ध्यान तथा प्रज्ञा–सम्बन्धी चेतनामूलक, प्रयोगात्मक कक्षाहरू र शिविरहरू निरन्तर सञ्चालन गर्दै आएको छ। यी कार्यक्रमहरूमा नेपालका मात्र होइन, भारतका साधकहरू पनि नेपालमै आइ सहभागी भइरहेका छन्।

Logo