डुम्रे। ऋषि परासर र सत्यवतिबाट श्रीकृष्णद्वैपायन अर्थात् २८औँ द्वापरयुगमा दमौलीको व्यास गुफामा उत्पत्ति भएको मानिन्छ । सनातन एवं हिन्दू धर्मावलम्बीको एकताको केन्द्र वेदव्यास जन्मभूमि व्यास परासर क्षेत्रको प्रवद्र्धन तथा प्रचारप्रसारमा सहज बनाउने उद्देश्यले क्युआर कोडमार्फत अध्ययन तथा जानकारी पाउने व्यवस्थापन गर्न लागिएको हो ।
व्यास नगर प्रज्ञा–प्रतिष्ठानको नेतृत्वमा वेदव्यासको तपोभूमि दमौली (व्यास, परासर क्षेत्र) का बारेमा क्युआर कोडमार्फत अध्ययन गर्ने व्यवस्थापनमा जुटेको कुलपति एवं व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। उनले भने, “नगरपालिकाको नामकरण नै व्यास ऋषिबाट गरिएकाले यहाँको प्रवद्र्धन तथा विकासको दायित्व नगरपालिकालाई छ । वेदव्यासको तपोभूमि दमौलीको प्रचारप्रसारलाई सहज रूपमा जनतामाझ पु¥याउने लक्ष्य लिइएको हो ।”
प्राज्ञिक सदस्य देवीबहादुर बस्नेतले नगरपालिकाकै नामलाई प्रचारप्रसारमा वेदव्यास भूमि महत्वपूर्ण रहेको बताए । उनले भने, “प्रथम चरणमा व्यास परासर क्षेत्रको अध्ययन गर्न मिल्ने गरी क्युआर कोड तयार गरिन्छ । त्यसपछि नगरपालिकाका पर्यटकीय, साहित्यिक, पुरातात्विक, ऐतिहासिक, कला, संस्कृति अध्ययन गर्न मिल्नेगरी क्युआर कोडमा समेटिने छ ।”
प्राज्ञिक सदस्य हरिसिं गुरुङले आधुनिक प्रविधिको युगमा प्रज्ञा–प्रतिष्ठानले आधुनिक प्रविधिमार्फत प्रत्येक व्यक्तिसमक्ष व्यास परासर क्षेत्रको जानकारी तथा प्रवद्र्धन गर्न लागेको बताए ।
क्युआर कोड तयारीका निम्ति नापनक्सा, ती क्षेत्रको वास्तविक अध्ययन तथा जानकारीका बारेमा तयारी भइरहेको उनले जानकारी दिए । “क्युआर कोड तयार एकैछिनमा हुने होइन । अध्ययन, अनुसन्धान तथा सम्पूर्ण पक्ष समावेश गर्नेगरी तयारीमा जुटिरहेका छौँ । नगरपालिकाभित्रका कोटहरूको अध्ययन पनि व्यास परासर क्षेत्रसँगै जोडेर क्युआर कोड तयार पार्ने योजना छ”, गुरुङले भने।
भाषा, संस्कृति, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धनलाई केन्द्रमा राख्दै आगामी कार्ययोजना तय गरेको उपकुलपति काशीनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार स्थानीय भाषा र लिपिको दस्तावेजीकरण, शब्दकोश तथा पाठ्यसामग्री निर्माण, मौखिक इतिहास सङ्कलन, सांस्कृतिक परम्परा र लोकज्ञान संरक्षण, लोकसाहित्य सङ्कलन–प्रकाशन, साहित्यिक गोष्ठी तथा कला प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना प्राथमिकतामा राखेको छ ।
स्थानीय विषयमा अनुसन्धान, पत्रिका तथा पुस्तक प्रकाशन, सेमिनार–गोष्ठी आयोजना र युवा–विद्यार्थी लक्षित कार्यक्रममार्फत समुदायको सहभागिता बढाउने निर्णयसहित कार्यान्वयनको चरणमा छ । यसै वर्षदेखि सञ्चालन गरिने कार्यक्रमको योजना तर्जुमा गर्दै प्रतिष्ठानले व्यास नगरको सांस्कृतिक विरासतको संरक्षण, विकास र प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता प्रतिष्ठानले जनाएको छ ।





























प्रतिक्रिया