पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा जारी निषेधज्ञा समय थप गरेको छ। मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म कफ्र्यू आदेश लागू हुने जनाएको छ। यसअघि सोमबार बेलुका ६ बजेदेखि मंगलबार बिहानसम्म निषेधज्ञा आदेश जारी गरिएको थियो।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा कुनै पनि प्रकारको सभा, जुलुस, धर्ना, सम्मेलन वा बैठक गर्न नपाइने गरी निषेधज्ञा आदेश जारी गरिएको हो।
प्रजिअ दाहालले नागरिकहरूलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन अनुरोध गर्दै, यदि बाहिर निस्कनुपरे नजिकैको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कन सुझाएका छन्। निषेधज्ञा अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारीसाधन भने नियमित रूपमा सञ्चालनमा रहन पाउने प्रशासनले जनाएको छ ।
प्रशासनले उक्त आदेशले सामाजिक असन्तोष तथा विवाद व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। सुरक्षा संयन्त्र सुदृढ राख्दै शान्तिपूर्ण वातावरण कायम राख्न प्रशासनले निगरानी बढाएको जानकारी दिइएको छ ।





























प्रतिक्रिया