पर्वत । प्रतिनिधिसभा पर्वतका उम्मेदवार मनहरी तिमिल्सिना समरले बाजुङमा सम्पन्न भेटघाट तथा घरदैलो कार्यक्रमलाई अत्यन्तै आत्मीय र स्मरणीय भएको बताएका छन्। बाजुङवासी दाजुभाइ तथा दिदीबहिनीहरूले देखाएको माया, विश्वास र अपनत्वले आफूलाई थप जिम्मेवार बनाएको तिमिल्सिनाको भनाइ छ।
बाजुङसँगै चित्रे, दराक, थामार्जुङ, भुकदेउराली, देउपुर र देउरालीमा गरिएको जनसंवादका क्रममा स्थानीय अग्रजहरूबाट प्राप्त आशिर्वाद, सुझाव र शुभेच्छालाई उनले आफ्नो राजनीतिक यात्राको ऊर्जा मानेका छन्। “जनतासँग प्रत्यक्ष संवादमा रहँदा मैले जिम्मेवारीको गहिरो अर्थ महसुस गरेको छु,” तिमिल्सिनाले भने।
उम्मेदवार तिमिल्सिनाले आफू दलको चश्माभन्दा माथि उठेर पर्वतको समग्र विकास र निष्ठावान् जनसेवामा समर्पित रहने स्पष्ट प्रतिबद्धता व्यक्त गरे। “म कसैलाई पनि राजनीतिक पूर्वाग्रहका आधारमा हेर्ने छैन। आफ्नो दल–अन्य दल भनेर विभेद गर्ने छैन। म सबैको प्रतिनिधि बन्न चाहन्छु,” उनले स्पष्ट पारे।
आफ्नो व्यवहार, निर्णय र कामले जनताको शीर कहिल्यै झुक्न नदिने दाबी गर्दै तिमिल्सिनाले इमान, मेहनत र जवाफदेहितालाई आफ्नो राजनीतिक आधार बनाउने बताए। “मलाई भोट दिएकोमा कसैले पनि पश्चात्ताप गर्नुपर्ने अवस्था आउन दिने छैन,” उनले जोड दिए।
अन्त्यमा, उनले पर्वतवासीको माया, भरोसा र साथको विनम्र अपेक्षा गर्दै चुनावी यात्रालाई अझ सशक्त बनाउने प्रतिबद्धता दोहो-याए।





























प्रतिक्रिया