काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडक खण्डको स्तरोन्नति कार्य तीव्र बनाइँदै गर्दा कालेपत्र (पक्की) गर्न आगामी चैतमा दुई हप्तासम्म रातिको समयमा यातायात बन्द गरिने भएको छ।
निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता भएपछि स्तरोन्नतिको कामलाई गति दिइएको छ। सोही क्रममा कालोपत्रे गर्न चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको हो। सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिमा कालोपत्रे कार्यका लागि यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ।
सडकखण्डमा चैत ७ देखि २० गतेसम्म साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म ठूला चारपाङ्ग्रे सवारीसाधन चल्न रोक लगाइनेछ। उक्त समयमा यात्रुवाहक बस पनि सञ्चालन गर्न पाइने छैन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। साथै टिपर, ट्रक लगायत (पास लिएका समेत) मालवाहक सवारीसाधनलाई चौबीसै घण्टा सञ्चालनमा रोक लगाइएको छ।
उक्त सडकखण्डको निर्माणमा ढिलासुस्ती हुँदा विगत तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ। कार्यालयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो। चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सम्पन्न गर्ने अपेक्षा गरिएको छ।
जिल्ला सदरमुकाम धुलिखेलदेखि खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेको थियो। सम्झौता अवधि सकिएको ११ महिनापछि गत वर्ष फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको निर्माण कम्पनीसँग ठेक्का रद्द गरिएको हो।
सडक विस्तारको काम कम्पनीले विसं २०७९ जेठ २० गते २२ महिनाभित्र अर्थात् २०८० चैत १९ गतेसम्म सम्पन्न गर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो।
अरनिको राजमार्ग हुँदै चीनसँगको उत्तरी नाका तातोपानी तथा दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकका रूपमा प्रयोग हुने यो मार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य छन्।
सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमता ध्यानमा राख्दै सडकलाई बलियो बनाउन ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणमा डिबिएम र आस्फाल्ट कालोपत्र गर्ने योजना बनाइएको छ।
सडक निर्माण समयमै नसकिँदा पुनःनिर्माणका लागि भत्काइएका सडकमा दुर्घटना हुँदा यात्रु घाइते हुने घटना पनि भइसकेका छन्।































प्रतिक्रिया