कटारीमा आँधीको कहर : ढलेको सालको रुखले किच्दा दुई जनाको ज्यान गयो, पाँच घाइते

कटारीमा आँधीको कहर : ढलेको सालको रुखले किच्दा दुई जनाको ज्यान गयो, पाँच घाइते

केन्द्रबिन्दु
0
Shares

उदयपुर । अचानक आएको हावाहुरीले उदयपुरको कटारी क्षेत्र शोकमग्न बनेको छ। वर्षासँगै चलेको तीव्र हावाले रुख ढल्दा दुई जनाले ज्यान गुमाएका छन् भने पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरीका अनुसार कटारी नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिर नजिक रहेको टिनको छाना र काठले बनेको खाजाघरमाथि सुकेको सालको रुख ढलेपछि ६४ वर्षीय वीरेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको हो। सोही घटनामा रुखले किच्दा पाँच जना घाइते भएका छन्।

घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, २७ वर्षीय युवराज कार्की, ४६ वर्षीय लीलाबहादुर दनुवार, ४६ वर्षीय प्रेमचन्द्र दनुवार र १६ वर्षीया अस्मिता परियार रहेका छन्। उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ। गम्भीर घाइते लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएकी बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा करिब ४० मिनेटपछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।

यसैबीच, कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाहुरीले भाँचिएको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याइए पनि राति ९ः१० बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

अचानक आएको हावाहुरीले कटारी क्षेत्रमा क्षति पुर्‍याएको भन्दै स्थानीय प्रशासनले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

Logo