हुरीले उडायो छानो -भाँचिए दुई खम्बा -दुई घरमा ठूलो क्षति

हुरीले उडायो छानो -भाँचिए दुई खम्बा -दुई घरमा ठूलो क्षति

केन्द्रबिन्दु
15
Shares

भक्तपुर। सोमबार साँझ आएको हुरीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा दुई घरमा क्षति पुगेको छ।

हुरीका कारण रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना उडेर घर पूर्ण रूपमा क्षतिग्रस्त भएको स्थानीय स्रोतले जनाएको छ। उडेको छाना नजिकै रहेको ११ हजार भोल्टको थ्रीफेज विद्युत् तारमा अड्किँदा ट्रान्सफर्मर जडित दुई वटा सिमेन्टका खम्बा समेत भाँचिएर ढलेका छन्।

खम्बा ढल्दा नजिकै रहेको सुशीला खड्काको घरमा पनि क्षति पुगेको छ। साथै, अर्को विद्युत् खम्बा पनि ढलेपछि सडक अवरुद्ध भएको र आवतजावत प्रभावित भएको बताइएको छ ।

हुरीपछि चाँगुनारायण नगर विपद् व्यवस्थापन समितिले नगर प्रहरीमार्फत पीडित घरहरूमा त्रिपालको व्यवस्था गरेको छ। स्थानीय टोल सुधार समितिका प्रतिनिधि, नगर प्रहरी र प्रहरी प्रभाग दुवाकोटको टोलीले घटनास्थलमा पुगेर उद्धार तथा व्यवस्थापनको काम गरेको वडा नम्बर २ का वडाध्यक्ष सोम प्रधानले जानकारी दिए।

उनका अनुसार क्षतिको विवरण सङ्कलन गरी पीडित परिवारलाई नगरपालिकामार्फत क्षतिपूर्तिको व्यवस्था गरिनेछ।

Skip This
Skip This
Logo