काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पूर्वी नेपालमा हावाहुरी चल्ने सम्भावना औँल्याएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
प्राधिकरणले बिहीबार सूचना जारी गर्दै प्रि–मनसुनको अवधि रहेकाले मौसमजन्य जोखिम बढ्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।
आगामी तीन दिनको पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने देखिएको छ।
त्यस्तै, शुक्रबारदेखि लुम्बिनी प्रदेशका तराई क्षेत्रका दाङ र नेपालगञ्ज आसपासका जिल्लाहरूमा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा करिब ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाहुरी चल्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
प्राधिकरणले उक्त अवस्थालाई ध्यानमा राख्दै विशेष आवश्यक कामबाहेक यात्रा नगर्न, हावाहुरी चल्दा घरका ढोका–झ्याल सुरक्षित रूपमा बन्द गर्न, आगोका स्रोत नियन्त्रणमा राख्न र सवारी चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकिन आग्रह गरेको छ। साथै, भिडभाडमा रहेका व्यक्तिहरूले नआत्तिई क्रमशः सुरक्षित स्थानमा सर्नुपर्नेमा पनि जोड दिइएको छ।






























प्रतिक्रिया