पिस डग’ अलोकालाई एयर इन्डियाले दिएन उडान अनुमति, भिक्षु पन्नाकर पनि काठमाडौंमै रोकिए

पिस डग’ अलोकालाई एयर इन्डियाले दिएन उडान अनुमति, भिक्षु पन्नाकर पनि काठमाडौंमै रोकिए

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । विश्वशान्तिको सन्देश बोकेर विभिन्न देशमा पदयात्रा गर्दै आएका चर्चित बौद्ध भिक्षु भन्ते पन्नाकर र उनको सहयात्री ‘पिस डग’ अलोकालाई उडान सम्बन्धी कागजात नमिलेको भन्दै एयर इन्डियाको उडानमा रोकेको छ ।

आइतबार भारतको सुनौली नाकाबाट लुम्बिनी हुँदै काठमाडौं आइपुगेको भिक्षु पन्नाकरासहित १८ जनाको टोली र अलोका नामक कुकुर एयर इन्डियाको विमानबाट आज बिहान साढे ६ बजे दिल्ली जाँदै थिए । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एयर इन्डियाको स्टेसनले कुकुरलाई यात्रुसँगै लैजान नपाइने भन्दै रोकेपछि १७ जना दिल्ली उडेका छन् भने भिक्षु पन्नाकर र कुकुर काठमाडौंमै रोकिएको यो यात्राको नेपालमा संयोजन गरिरहेका पत्रकार नरेन्द्र मानन्धरले बताए ।

उनका अनुसार, यो टोली भोलि दिल्लीबाट अमेरिका प्रस्थान गर्ने तालिका छ । मानन्धरका अनुसार अमेरिकाबाट क्यानडा, श्रीलंका, भारतसम्म पनि अलोकाले भिक्षुसँगै जहाजमै यात्रा गरेको थियो । यो टोली सोमबार भैरहवाबाट बुद्ध एयरको विमान चढेर काठमाडौं आएको थियो ।

तर एयर इन्डियाले अलोकालाई उडानसम्बन्धी आवश्यक कागजात नमिलेको भन्दै बोर्डिङ रोकिदिएको हो । एयर इन्डियाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) प्रबन्धक अनिल कुमारका अनुसार अलोकालाई ‘सर्भिस डग’ का रूपमा जहाजको क्याबिनमा लैजान खोजिएको थियो । तर त्यसका लागि यात्रुसँगै पशुचिकित्सकद्वारा प्रमाणित शारीरिक वा मानसिक अशक्तताको प्रमाणपत्र आवश्यक पर्ने नियम रहेकाले कुकुरलाई बोर्डिङ पास नदिइएको उनले बताए ।

‘उनीहरुले कुकुरलाई सर्भिस डग भनेका छन् । तर सर्भिस डगलाई क्याबिनमा लैजान स्वास्थ्यसम्बन्धी समस्या नभएको चिकित्सकीय प्रमाण चाहिन्छ,’ उनले भने, ‘हामीले हिजोदेखि नै त्यस्तो प्रमाणपत्र ल्याउन आग्रह गरेका थियौं । एयर इन्डियाको वेबसाइटमै यो व्यवस्था स्पष्ट रूपमा उल्लेख छ । तर हामीले मागेको कागजात नपाएपछि रोक्नुपरेको हो ।’

उनका अनुसार अलोका करिब २० किलोग्राम तौलको छ । यस्तो अवस्थामा क्याबिनभित्र लैजान कठिन हुने उनले बताए । यात्रुसँग स्वास्थ्यसम्बन्धी आवश्यकता प्रमाणित भएमा सहजीकरण गर्न सकिन्थ्यो । अन्यथा यस्तो ठूलो कुकुरलाई क्याबिनमा लैजँदा छेउका यात्रुलाई असहज हुन सक्छ,’ उनले भने ।

Logo