काठमाडौं । बर्खा सुरु भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा १ सय ५५ वटा उपकरण परिचालन गरिएको छ। थप १ सय २२ उपकरण तैनाथ राखिएको छ। सडक विभागअन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्नासाथ पन्छाउन मिल्ने गरी उपकरणको व्यवस्था गरेको हो। शाखाअन्तर्गत समग्रमा २ सय ७७ उपकरण छन्।
बर्खामा पहिरो खसेर अवरुद्ध हुने राजमार्गलाई अस्थायी रूपमा व्यवस्थापन गर्ने गरी ठाउँ–ठाउँमा उपकरण पठाइसकिएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले बताए। ‘पहिरो खसेर अवरुद्ध हुने जोखिम रहेका विभिन्न राजमार्गका विभिन्न खण्डमा उपकरण पठाएर तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘अहिले व्यवस्थापन गरिएका उपकरण अपुग भए निजी क्षेत्र र निर्माण व्यवसायीसँग मागेर पनि काम गर्न सकिन्छ।’
सडक विभागअन्तर्गत विभिन्न जिल्लामा विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै अवरुद्ध यातायात सञ्चालन गर्न सडक डिभिजन र सम्बन्धित योजना प्रमुखको संयोजकत्वमा ‘टास्क फोर्स’ बनाइएको छ। तुरुन्तै आवश्यक परेको ठाउँमा लगेर राख्न मिल्ने गरी तयारी देशभर १० वटा बेलिब्रिज अवस्थामा राखिएको विभागले जनाएको छ। ‘कहीँ आवश्यक परेको वा बाढीले पुलमा क्षति गरे तत्काल बेलिब्रिज राखेर सवारी आवागमन सञ्चालन गर्न मिल्ने गरी तयारी गरेका छौं,’ खड्काले भने। सरकारले पहिरोको दिगो व्यवस्थापनका लागि भन्दै आगामी आर्थिक वर्षका लागि ३ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ।
‘पहिरोको समस्या रहेका राजमार्गहरूमा त्यसको दीर्घकाल समस्या समाधान गर्न आगामी आर्थिक वर्षका लागि छुट्टै बजेट विनियोजन गरिएको छ,’ उनले भने, ‘त्यसमा समस्या भएका खण्डहरूलाई प्राथमिकतामा राखेर काम थाल्छौं, केहीको अध्ययन भइसकेको छ, त्यसलाई कार्यान्वयनमा लग्छौं, केहीको अध्ययन गरेर कार्यान्वयनमा लग्ने तयारी छ।’
ठेक्का भएर काम भइरहेका सडक खण्डमा भने सम्बन्धित आयोजनाका प्राविधिक कर्मचारीको उपस्थितिमा निर्माण व्यवसायीकै उपकरणबाट पहिरो पन्छाएर यातायात सञ्चालन गरिनेछ। पहिरोको जोखिम रहेका क्षेत्रमा एक्स्काभेटर, टिपर र ट्रक पठाइसकिएको सडक विभागका उपमहानिर्देशक एवं यान्त्रिक महाशाखाका प्रमुख भुवन अधिकारीले बताए। देशभर हेभी इक्विपमेन्ट डिभिजन र यान्त्रिक कार्यालय १६ वटा छन्। यिनै कार्यालयअन्तर्गतका सडकमा उपकरण पठाइएको हो।
बर्खाका लागि २ सय ७७ उपकरण तयारी राखिएको छ। ‘पहिरोको बढी जोखिम रहेको कुनै–कुनै ठाउँमा लोडर र टिपर दुई–दुई पठाइएको छ,’ अधिकारीले भने, ‘बढी जोखिम र नजिकै पहिरो खसेपछि फाल्न नहुने ठाउँमा बोकेर लग्ने ट्रक–टिपरको व्यवस्थापन गरिएको छ।’ केही इक्विपमेन्ट महाकाली नदी संरक्षणको काममा परिचालन गरिएको उनको भनाइ छ। बाढी आएर बस्तीमा पस्ने जोखिम हुँदा १२ उपकरण परिचालन गरिएको हो।
यान्त्रिक महाशाखाका अनुसार दुई वर्षदेखि बढी समस्या बीपी राजमार्गमा छ। त्यहाँ ठेक्का भएर सडकको नयाँ ट्र्याक बनाउने काम भइरहेकाले निर्माण व्यवसायीको उपकरण परिचालन गरेर पहिरो पन्छाइनेछ। सधैं पहिरो खसेर समस्या भइरहने अरनिको राजमार्गअन्तर्गत कोदारी खण्ड पनि रहेको यान्त्रिक महाशाखाका प्रमुख अधिकारीले बताए। यस ठाउँका लागि उपकरण पठाइसकिएको छ।
‘बर्खा–हिउँदमा दिनदिनै पहिरो खस्ने जोखिम भएको नारायणगढ–मुग्लिन सडक खण्ड हो,’ अधिकारीले भने, ‘राजधानीलाई जोड्ने कान्ति राजमार्गमा पनि पहिरोको समस्या उस्तै छ।’
बाढीपहिरो खसेर लामो समयसम्म यातायात आवागमन प्रभावित हुनेमा कर्णाली राजमार्ग पर्छ। मेची राजमार्गको पनि विभिन्न खण्डमा पहिरोको जोखिम रहेकाले उपकरण पठाइसकिएको छ। ‘सिद्धार्थ राजमार्गको पाल्पा–पोखरा जोड्ने खण्डमा पनि पहिरोको समस्या छ, यहाँ पनि उपकरण पुगिसकेको छ,’ प्रमुख अधिकारीले भने, ‘मुख्य रूपमा पहिरो जाने खण्ड यिनै हुन्, बर्खाका बेला अन्य स्थानमा साना/ठूला पहिरो त आइरहेकै हुन्छन्।’ तराईमा पर्ने राजमार्गबाहेक पूर्व मेचीदेखि पश्चिम महाकाली खण्डमा पहिरोको जोखिम रहेको उनले सुनाए।
मौसम पूर्वानुमान महाशाखाको मौसमसम्बन्धी प्रक्षेपणअनुसार नै कार्ययोजना बनाएर उपकरण पठाउने गरिएको प्रमुख अधिकारीले बताए। १ असारमा पहिरोको जोखिम रहेको क्षेत्रमा इक्विपमेन्ट पठाएर कात्तिक मसान्तसम्म राख्ने गरिन्छ। ‘१ असारबाट मनसुन सुरु हुन्छ। सामान्यतया कात्तिक अन्तिममा मनसुन सकिन्छ,’ उनले भने, ‘दसैं, तिहार र छठजस्ता ठूला चाडपर्व सकिसकेपछि मात्र मेसिन फिल्डबाट फर्काएर सम्बन्धित कार्यालयमा पठाउँछौं।’ अहिलेलाई पहिरो पन्छाउन उपकरण पर्याप्त रहेको उनको भनाइ छ।
देशभर ८० वटा राजमार्ग छन्। यिनै राजमार्गमा सवारी चाप बढी हुने भएकाले पहिरोका कारण सवारी आवागमन प्रभावित हुन नदिन उपकरण पठाइएको सडक विभागले जनाएको छ।
सधैंको बर्खामा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुंगा–मुग्लिन सडक, कोशी, कर्णाली, कालीगण्डकी करिडोर, साँफे–मार्तडी सडक, भालुबाङ–प्यूठान सडक, सुर्खेत–नेपालगन्ज सडक, मेची राजमार्ग, नारायणगढ–मुग्लिन सडक, गल्छी–त्रिशूली–स्याफ्रुबेंसी–रसुवागढी सडकको विभिन्न खण्डमा पहिरोको जोखिम बढी रहने गरेको छ।






























