काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम बजारमा हिजोआज पर्यटकहरूको बेग्लै चहलपहल छ। २६ जेठमा मुस्ताङका लागि एउटा विशेष दिन भयो। त्यस दिन ३ हजार ८ सय ८ जना पर्यटकले मुस्ताङको माटोमा टेकेको जोमसोमस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष (एक्याप) को इलाका संरक्षण कार्यालयका प्रमुख राजेशप्रसाद गुप्ता बताउँछन्। तिनीहरूमध्ये २ सय ५० जना युरोपेली थिए। बाँकी छिमेकी देश भारतबाट आएका धार्मिक पर्यटक थिए। यसमा नेपाली तीर्थयात्रीको संख्या समावेश छैन।
विशेषगरी भारतको बिहार र उत्तर प्रदेशमा यतिबेला चर्को गर्मी छ। त्यहाँका विद्यालयमा गर्मी बिदा सुरु भइसकेकाले सर्वसाधारण शीतलताको खोजीमा नेपाल पसिरहेको जोमसोमस्थित स्नोल्यान्डकी सञ्चालक तथा होटल संघ, मुस्ताङकी अध्यक्ष विमला शेरचनको भनाइ छ। सडक पनि सहज भएकाले उनीहरूलाई यात्रा गर्न सजिलो छ। ‘अहिले पोखराबाट बिहान हिँडेको टोली साढे ४ घण्टामै जोमसोम पुगिरहेका छन्,’ अध्यक्ष शेरचनले भनिन्, ‘भारतीय पर्यटक ईभीमै सजिलै जोमसोम आइरहेका छन्।’
कोही आफ्ना परिवार, केटाकेटी र वृद्ध आमाबुबालाई डोर्याउँदै आइरहेका छन्। भारतीय विद्यालयका महिला शिक्षिकाको संख्या उल्लेख्य रहेको गुप्ताले जनाए। अर्कोतर्फ, कालीगण्डकीको किनारैकिनार ढुंगा र हिलो छिचोल्दै ‘रफ’ सडकमा बाइक कुदाएर एड्भेन्चरको मज्जा लिन आइपुगेका भारतीय युवाको जोस पनि हेर्न लायक छ।
हिमाली जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आकर्षण ह्वात्तै बढेको नेपाल प्रहरीको तथ्यांक छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटक आगमन अभिलेखअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म (११ महिनामा) मात्रै मुस्ताङमा कुल ७ लाख ५ हजार ७ सय ५४ जना स्वदेशी तथा विदेशी पर्यटक भित्रिसकेका छन्।
गत आर्थिक वर्षमा ७ लाख ५ हजार ७ सय ७९ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। यस वर्ष असारको तथ्यांक थपिनुअगावै गत वर्षको कुल संख्याकै हाराहारीमा पर्यटक भित्रिइसकेका छन्। विगतको वर्षभन्दा यस आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङ भित्रिने विदेशी पर्यटकको संख्यामा ६२ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जनाए। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मात्रै २ लाख ४४ हजारभन्दा बढी विदेशी र ४ लाख ६० हजारभन्दा बढी आन्तरिक पर्यटक गरी साढे सात लाख पर्यटक मुस्ताङ भित्रिइसकेका छन्।
यस अवधिमा १ लाख ५९ हजार १ सय ६० सवारी मुस्ताङ भित्रिएका छन्। जेठमा सरकारले लगालग ४ दिन बिदा दिएका दिन म्यादीको सिमानाबाट झन्डै ९ हजार स्वदेशी/विदेशी मुस्ताङ पसेका थिए भने मुक्तिनाथमा झन्डै १५ हजार तीर्थालु भेला भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ।
तीर्थयात्रीहरूको आस्था र अनौठो प्रकृतिका कारण मुक्तिनाथमा पर्यटक ओइरिएको एक्यापका अधिकृत गुप्ता बताउँछन्। ‘भारतीय पर्यटकका लागि मुस्ताङ आउनुको पहिलो र सबैभन्दा ठूलो ध्येय धार्मिक यात्रा नै हो,’ उनले भने, ‘मुक्तिनाथको दर्शन गर्नु, त्यहाँको १ सय ८ धारामा स्नान गर्नु र मोक्षको अनुभूति गर्नु उनीहरू आफ्नो जीवनको ठूलो अहोभाग्य र महिमा मान्छन्। तर यात्रा आस्थामा मात्रै टुगिँदैन। मुक्तिनाथको आँगनबाट जब उनीहरूले मुस्ताङको रूप देख्छन्, तब मन्त्रमुग्ध बन्छन्।’
विशाल र गगनचुम्बी पहाड तर तिनमा कुनै हरियाली छैन। यो ‘ट्री–लेस’ (रुखविहीन) फुस्रो परिदृश्य उनीहरूका लागि निकै अनौठो र आकर्षक बनिदिन्छ। ‘अनि ठ्याक्कै मरुभूमि जस्तो देखिने कालीगण्डकीको फराकिलो बगर पनि,’ संरक्षण अधिकृत गुप्ता भन्छन्, ‘त्यो बगरमा उभिएर, मुस्ताङी परम्परागत वेशभूषा र गहना पहिरिएर फोटो र भिडियो खिच्न पाउँदा उनीहरूमा देखिने खुसी साँच्चै बयान गरिसाध्य हुँदैन।’
यो ‘अफसिजन’ का बेला मुस्ताङ मात्रै होइन, पछिल्ला दिन पश्चिममा दाङको स्वर्गद्वारी, पोखरा, काठमाडौंको पशुपति, पूर्वमा धरानसम्मका पर्यटकीय गन्तव्य भारतीय तीर्थयात्री तथा पर्यटकलाई आकर्षण गर्ने न्यानो गन्तव्यका रूपमा गुल्जार भइरहेका छन्। अफ सिजनका बेला भइरहेको पर्यटकको यो गुल्जार यस पटक हिमाल चुचुरासम्मै पुगेको छ।
कालीगण्डकीको किनारैकिनार ढुंगा र हिलो छिचोल्दै ‘रफ’ सडकमा बाइक कुदाएर एड्भेन्चरको मज्जा लिन आइपुगेका भारतीय युवाको जोस पनि हेर्न लायक छ।नेपालमा पर्वतारोहण र विशेषगरी वसन्तकालीन हिमाल आरोहणको इतिहास ७६ वर्ष पूरा भइसकेको छ। २००७ जेठमा फ्रान्सेली नागरिक मोरिस हेर्जोग र लुइस लाचेनलले अन्नपूर्ण हिमाल (८,०९१ मिटर) को आरोहण गरेसँगै त्यसयताका हरेक वर्ष वसन्त ऋतुमा नेपालमा विदेशी हिमाल आरोहण गर्न आउने परम्परा छ। पर्वतारोहणको भाषामा वसन्त ऋतुलाई ‘प्राइम सिजन’ भनिन्छ। तर यस पटक वसन्त ऋतुको सुरुवात नहुँदै मध्य फागुनबाट इरानमा संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त आक्रमण भएसँगै खाडी क्षेत्रबाट नेपालका लागि हुने ७ वटा वायुसेवाका उडान महिनौंसम्म कटौती भए।
इरानमा तनाव सिर्जना भएपछि नेपालको ‘प्राइम सिजन’को प्राइम बिजनेसमा ठूलो धक्का लाग्ने व्यवसायीको अपेक्षा थियो। तर यस पटक त्यति धेरै नकारात्मक असर नेपालको पर्वतीय पर्यटनमा परेन। वसन्तकालीन हिमाल आरोहण सिजनमा यहाँका ३१ वटा हिमाल आरोहण गर्न ७९ देशका १ हजार १ सय ९५ आरोही नेपाल आए। सगरमाथाबाट मात्रै पर्यटन विभागले १ अर्ब ८ करोड बढी सलामी दस्तुर संकलन गर्यो। सन् २०२६ को वसन्तकालीन हिमाल आरोहण सिजनमा विश्वभरका आरोहीहरूको नेपालका हिमालहरूमा उत्साहजनक आकर्षण देखियो।
पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तीन महिनामा १७ फागुनदेखि १८ जेठ (१ मार्चदेखि १ जुन २०२६) सम्मको विवरणअनुसार यस सिजनमा कुल १ सय ४९ टिमले नेपालका ३१ हिमालमा आरोहण गतिविधि गरे, जसमा २ सय ८७ महिला र ९ सय ८ पुरुष गरी ११ सय ९५ जना थिए। यस पटकको हिमाल आरोहणबाट नेपाल सरकारले कुल १ अर्ब २६ करोड ४७ लाख रुपैयाँ (८४ लाख ७० हजार ३७६ अमेरिकी डलर) सलामी दस्तुर संकलन गर्यो। सगरमाथामा मात्रै ४ सय ९५ आरोहीले आरोहण अनुमति लिएको निर्देशक गौतमको भनाइ छ। सगरमाथा आरोहण गर्न मात्रै विश्वका ५६ देशका नागरिक पुगेका थिए।
गर्मीयाममा भारतीय पर्यटक बढेसँगै सडक छेउमै खाना पकाइरहेका, कपडा सुकाएका फोटो/भिडियो सार्वजनिक भएपछि अघिल्लो साता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणमा सडकमार्ग हुँदै आउने विदेशी पर्यटकका लागि पालना गर्नुपर्ने नियम, सुरक्षा र आचरणसम्बन्धी ‘गर्न हुने र गर्न नहुने’ नियम सार्वजनिक गर्यो। नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउने उद्देश्यले मन्त्रालयले सामाजिक सञ्जालमार्फत निर्देशन जारी गरेको थियो।
नेपालमा शाकाहारी तीर्थयात्रीका लागि खाना र बस्नको अभाव भएको, यति धेरैको संख्यामा आउने पर्यटकका लागि आवश्यक पूर्वाधार (होटल, धर्मशाला, शौचालय) अझै तयार नभइसकेको। नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रवेशदेखि यात्रा, स्वास्थ्य, संस्कृति र सुरक्षासम्बन्धी सबै नियम पालना गर्न आग्रह गरिएको थियो। सामाजिक सञ्जालमा भारतीय पर्यटक तस्बिर भाइरल भएसँगै सुरु भएको बहसबीच पर्यटनमन्त्री खडकराज पौडेलले नेपाल–भारत धार्मिक पर्यटनको बदलिँदो स्वरूपलाई अवसरका रूपमा बदल्नुपर्ने जनाएका थिए।
नेपालको पर्यटन तथा हस्पिटालिटी (होटल, रिसोर्ट तथा रेस्टुराँ) क्षेत्रमा निजी क्षेत्रको लगानी अभूतपूर्व रूपमा विस्तारित भएको पाइएको छ। कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वरका अनुसार २०६३ देखि २०८३ जेठसम्मको तथ्यांकअनुसार यस अवधिमा नेपालमा ६ हजार ५ सय ७० वटा होटल, लक्जरी रिसोर्ट, रेस्टुरेन्ट तथा केबलकारसहितका पर्यटन पूर्वाधारसम्बन्धी कम्पनी दर्ता भएका छन्। यी कम्पनीको वित्तीय विवरण केलाउँदा नेपालको पर्यटन व्यवसायमा पुँजीको आकार निकै ठूलो बनेको देखिन्छ।
यस क्षेत्रमा कुल अधिकृत पुँजी ४ खर्ब ५६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी छ भने व्यवसायीले ३ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको जारी पुँजीमार्फत वास्तविक लगानीको प्रतिबद्धता जनाएका छन्। अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्माण र विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै देशैभर तारे होटल र लक्जरी रिसोर्ट खोल्ने प्रतिस्पर्धा छ।
पर्यटन विभागका एक अधिकारीका अनुसार, पछिल्ला ५ वर्षयता वातावरणीय मूल्यांकनको प्रक्रियामा देशभरका ४१ ठूला होटल तथा रिसोर्ट, बहुप्रतिष्ठित चेन होटल छन्। नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा वैधानिक लगानी र वातावरणीय दिगोपन सुनिश्चित गर्न देशभरका ४१ ठूला होटल, रिसोर्ट तथा हस्पिटालिटी व्यवसाय वातावरणीय मूल्यांकनको कानुनी प्रक्रियामा सामेल भएका छन्।
नेपालमा विश्वप्रसिद्ध चेन होटलले साझेदारी र लगानी गर्ने क्रम पनि उत्तिकै बढेको छ। हाल नेपालमा एकदेखि पाँचतारेसम्मका ३ सय ५० होटल सञ्चालनमा छन्, जसमा १६ हजार ६ सय १३ कोठा र २६ हजार २ सय ८५ बेड छन्। एकतारे स्तरका ४४, दुईतारे स्तरका ४९, तीनतारे स्तरका ३७, चारतारे स्तरका ४० र पाँचतारे स्तरका २८ होटल रहेको विभागको पछिल्लो तथ्यांक छ।
पाँचतारे डिलक्स स्तरका ३, लक्जरी बुपछक/हेरिटेज ३, डिलक्स चारतारे ५, नर्मल हेरिटेज १, साधारण रिसोर्ट १ सय २७, डिलक्स रिसोर्ट १० र लक्जरी रिसोर्ट ३ वटा सञ्चालनमा छन्। यी सबैको अनुगमन पर्यटन विभागले गर्छ।






























