‘धुर्बे’को घाँटीमा चौथो पटक ‘कलर’गरेर छाडियो

‘धुर्बे’को घाँटीमा चौथो पटक ‘कलर’गरेर छाडियो

केन्द्रबिन्दु
6
Shares

चितवन । दुईजनाको ज्यान लिएपछि नियन्त्रणमा लिन खोजी हुँदै आएको जंगली भाले हात्ती ‘धुर्बे’लाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले बुधबार राति फेला पारेको छ । निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनसा थापा मगरले ‘धुब्रे’ गएराति साढे १० बजे निकुञ्जको पश्चिम क्षेत्र सुखिभार पोष्ट नजिक भेटिएपछि डार्ट गरेर निगरानीका लागि स्याटलाइट प्रविधिमा आधारित कलर राखेको जानकारी दिए ।

हात्तीको घाँटीमा यस्तो ‘कलर’ राखेपछि हात्ती कहाँ पुगेको छ भन्ने जानकारी बेला बेलामा निकुञ्जका कर्मचारीले कम्प्युटर या मोबाइल फोनमा हेर्न सक्ने छन् । हात्ती वस्ती नजिक आए त्यसलाई जंगल फर्काउन तत्कालै निकुञ्जको टोली परिचालन हुने उनले बताए । हात्तीको दाह्रासमेत काटेको उनले जानकारी गराए ।

‘धुर्बे’ हात्तीले असार २० गते मध्यरातमा भरतपुर महानगरपालिका–२३ जगतपुर बेलहठ्ठाका २५ वर्षकी आशिका बोटे र उनका चार वर्षका छोरा भरत बोटेलाई आक्रमण गरेको थियो । आक्रमणका कारण उनीहरु दुवैजनाको घटनास्थलमै ज्यान गएको थियो । दुईजनाको ज्यान लिएपछि हात्तीलाई नियन्त्रणमा लिन दबाब बढेको थियो । तत्कालै टोली परिचालन हुँदै आए पनि हात्ती भेट्टाउन १० दिन लाग्यो ।

‘वर्षायामको प्रतिकुल मौसम, घना जंगल र बढेको झाडीले गर्दा असहज भएको थियो । निकुञ्जको टोलीसँगै निकुञ्ज सुरक्षाका लागि तैनाथ नयाँ गोरखा गणको टोली नियमित गस्तीमा थियो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका प्राविधिकहरु पनि निरन्तर खटेका थिए,’ सूचना अधिकारी थापा मगरले भने । ‘धुर्बे’को घाँटीमा यस्तो कलर राखेको यो चौथो पटक हो ।

Logo