काठमाडौं । लेबनानमा युद्धका कारण भएको वातावरणीय क्षति ५१ करोड २० लाख अमेरिकी डलरभन्दा बढी पुगेको वातावरणमन्त्री तामारा अल–जेनले बुधबार बताएका छन्।
सन् २०२३ यता देशको दक्षिणी क्षेत्रमा डढेलोका कारण सात हजार हेक्टरभन्दा बढी वन तथा जङ्गल क्षेत्र नष्ट भएको जानकारी उनले दिए। लेबनानको राष्ट्रिय समाचार संस्थाका अनुसार मन्त्री अल–जेनले इजरायली आक्रमणलाई ‘वातावरणीय अपराध’को संज्ञा दिँदै वातावरणीय क्षति समग्र युद्धजन्य प्रत्यक्ष क्षतिको एक हिस्सा रहेको बताए।
युद्धबाट भएको प्रत्यक्ष आर्थिक क्षति ११ अर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। सरकार आर्थिक रूपमा कमजोर अवस्थामा रहेको र दक्षिणी क्षेत्रमा सुरक्षा चुनौती कायमै रहेपनि वातावरणीय पुनःस्थापनाका लागि विस्तृत योजना आवश्यक रहेको मन्त्री अल–जेनले बताए।
इजरायल र लेबनानबिच सीमापार द्वन्द्व अन्त्य गर्ने उद्देश्यले हालै एउटा ढाँचा सम्झौता भए पनि दक्षिणी लेबनानमा इजरायली सैन्य गतिविधि जारी रहेको अवस्थामा पुनःस्थापनाको पहल अघि बढाइएको हो।






























