राष्ट्रिय गौरवका आयोजना प्राथमिकता दिन समन्वय समितिको निर्देशन

राष्ट्रिय गौरवका आयोजना प्राथमिकता दिन समन्वय समितिको निर्देशन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । 

शुक्रवार सिंहदरवारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्ड ल्याउन निर्देशन दिएको हो । समितिले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा बाढी तथा पहिरोले पुर्याएको क्षतिका बारेमा छलफल गरेको थियो । छलफलपछि समितिले आयोजनामा  बाढी पहिरोले पुर्याएको क्षतिको मूल्याङ्कन गरी पुनर्निर्माणलाई अविलम्ब शुरु गर्न निर्देशन दिएको छ । 

राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति,  दिल कुमारी रावल थापाले भनिन्, ‘ आयोजनासँग प्रत्यक्ष सरोकार राख्ने निकायको बीचको प्रभावकारी सहकार्य र समन्वयको अहिले पनि अभाव देखिएको छ । यो आयोजना भित्रको निकाय, मन्त्रालय र तहका सरकारको बीचमा अहिले पनि समन्वयको अभाव देखिएको छ, यसलाई प्रभावकारी समन्वयको लागि हामी निर्देशन दिएका छौँ ।’

समितिले आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी आयोजनाबीचमा भएको संरचनात्मक समस्यालाई व्यवस्थित गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले शहरी विकास मन्त्रालय, मेलम्ची खानेपानी आयोजना,  काठमाडौं आयोजना खानेपानी लिमिटेड र काठमाडौं महानगरपालिकाको सरसफाइ तथा विभाग हेर्ने अधिकारीहरुसँग छलफल गरेको थियो ।

Logo