नेपालको क्षेत्रफलमा ८२६ वर्ग किमि थपः सिमाविद् श्रेष्ठ

नेपालको क्षेत्रफलमा ८२६ वर्ग किमि थपः सिमाविद् श्रेष्ठ


सिमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।  

शुक्रबार आफूले लेखेको पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को लोकार्पणमा बोल्दै सिमाविद् श्रेष्ठले उक्त धारणा राखेका हुन्।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपनि हालसम्म सो क्षेत्रसहितको भूभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो । चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको उनको जिकिर थियो। 

श्रेष्ठले आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग किमि थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए। 
‘बोर्डर म्यान अफ नेपाल’ पुस्तकमा नेपालको सिमानाको साथसाथै अन्य देश नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रको अध्ययनबाट हासिल गरेका अनुभव र पाएका शिक्षाहरुको सम्बन्धमा पनि उल्लेख गरिएको छ। 

नेपाल–भारतमा भएका सिमा समस्या, सिमा अध्ययन गर्न जाँदा आफूले भोगेका अनुभुतिहरुसमेत पुस्तकमा उल्लेख गरिएको श्रेष्ठले जनाए। नेपालको सीमा मामिलाको सम्बन्धमा विदेशीले पनि बुझुन् भन्ने उद्देश्य साथ पुस्तक अंग्रेजी भाषामा लेखिएको उनले बताए।

Logo