नेकपा फुटेको होइन, पार्टी शुद्धीकरण भएकाे मात्र हाे : ओली

नेकपा फुटेको होइन, पार्टी शुद्धीकरण भएकाे मात्र हाे : ओली


चितवन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा रहेको दाबी गरेका छन्।

‘तीन पूर्वप्रधानमन्त्री बुढेसकालमा लौरो टेकेर लाइन लागेर लुखुरलुखुर देशभरि हिँड्नुभएको छ। उहाँहरूको उद्देश्य राम्रो भइदिए हुन्थ्यो, स्वागत गर्न मिल्थ्यो’, ओलीले भने, ‘पार्टी ध्वस्त पार्ने, आन्दोलन सखाप पार्ने र देश बर्बाद पार्ने मनसाय उहाँहरूको छ।’

ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले पार्टी ध्वस्त बनाउन लागेको आरोप लगाए। सरकारलाई काम गर्न नदिएपछि निर्वाचनमा जानुको विकल्प नभएको उनको भनाइ थियो। ‘गीतमा भनिएको छः पिलो निचोर्दैमा वजन घटेको हुँदैन’, जीवन शर्माले गाएको गीतको प्रसंग निकाल्दै दाहाल–नेपाल समूहलाई लक्ष्य गरी उनले भने, ‘हामीले होइन, आफैँ निचोरिएर फुत्त निस्केको हो।’

उनले भाषणका क्रममा पटक–पटक दाहाललाई प्रहार गरे। ‘जसका लागि भोट मागेँ, उही नै मणि होइन कुहएिको आलुजस्तो निस्केपछि कहाँबाट मणि बनाउनु ?’, उनले भने, ‘विरोध गर्दै खुट्टा तान्दै ठीक भो अनि कहाँबाट मणि बन्छ।’

उनले भगवान् रामको जन्मभूमि नेपाल भन्न नसक्नेहरूले राष्ट्रवादको अभिनय गरेको टिप्पणी गरे। उनले आफू नेतृत्वको सरकारले विकासको काम गर्दा पार्टीको अर्को समूह छटपटाएको आरोप लगाए। उनले तोकिएको समयमा निर्वाचन गराएरै छाड्ने बताए। निर्वाचन हुँदैन कि भनेर शंका नगर्न उनले आग्रह गरे।

उनले भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै पहिलो चरणको वैशाख १७ र दोस्रो चरणको २७ गते नै निर्वाचन हुनेमा विश्वस्त हुन आग्रह गरे। ‘निर्वाचनको घोषणा अलमल्याउनका लागि भनेर कतिपयले भ्रम फिँजाएका छन्। तिनीहरू अलमलिँदै गरुन्। निर्वाचन भनेकै मितिमा हुन्छ। तपाईंहरू ढुक्क हुनुहोस्’, उनले भने। उनले आफूले कुनै गल्ती नगरेको उल्लेख गर्दै घुँडा नटेक्ने स्पष्ट पारे। सरकारले विकासको रफ्तार तीव्र पारेको पनि उनको भनाइ थियो।

गृहमन्त्री रामबहादुर थापाले आत्मालोचना गरेर फर्कन अर्को समूहलाई आग्रह गरे। थापाले माओवादी धारको राजनीतिक शक्तिबाट बाहिर गएर गद्दारी गरेको दाहालको आरोपको खण्डन गर्दै दाहाललाई अवसरवादी नेताको संज्ञा दिए। दाहालले आफू प्रधानमन्त्री हुँदा जनयुद्धका पीडितका लागि केही गर्न नसकेको उनको गुनासो थियो। ‘अवसरवादीहरूले हामीमाथि आरोप लगाए’, उनले भने, ‘पार्टीमा फुट गराउने दुस्साहस गर्नुभएको छ, त्यसबाट पछि हट्नुस् र पार्टीमा फेरि फर्किनुस्।’अन्नपूर्णबाट

Logo