जनकपुरबाट रेल चढाएर भारतको दिल्ली लैजाँदै गरिएका दुई जना किशोरीलाई उद्धार गरिएको छ ।
जनकपुरधाम–जयनगर रेलमा चढाएर भारत लैजाँदै गर्दा महोत्तरी जलेश्वरकी १४ र १९ वर्षीया किशोरीलाई प्रहरीले उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगर टोलका २६ वर्षीय रूपेशकुमार मिश्र, वडा नम्बर २३ लादोवेलका २३ वर्षीय दिलमहमद साह र महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ विल्टाहाका २० वर्षीया रानी भन्ने मुस्कान मण्डलले दुई किशोरीलाई भारततर्फ लैजाँदै थिए ।
शंका लागेपछि प्रहरीले जनकनन्दनी गाउँपालिका १ स्थित इनरुवा रेल्वे स्टेसनमा उनीहरुलाई सोधपुछ गरेको थियो । उनीहरूले गोलमटोल जवाफ दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । राम्रो काममा लगाइदिने भनेर किशोरीलाई दिल्लीतर्फ लैजाँदै गरेको अनुसन्धानबाट खुलेको छ ।
धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार दिल्लीतर्फ लैजान उनीहरूले दुवै किशोरीलाई चार दिनदेखि जनकपुरमा राखेका थिए । उनीहरुमाथि मानव बेचविखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।





























प्रतिक्रिया