काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसरले शुक्रबार उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महागरपालिका -१६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका -१५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका -१ की सुमी भनिने सुस्मिता स्याङताङ रहेका छन् । त्यसमध्ये महोरम र रेहानले अन्सारीको हत्याको योजना बनाउनुका साथै पेस्तोल उपलब्ध गराएको प्रहरीको अनुसन्धानमा खुलेकाे छ । सुमीलाई भने अन्सारीको गतिविधि रेकी गर्न खटाइएको थियो ।
दुई साताअघि गोठाटारमा अज्ञात समूहले सर्लाहीको सिसौरिया-६ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालक मोहम्मदको गोली हानी हत्या गरेको थियो । घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो ।
प्रतिक्रिया