नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सबै प्रहरी इकाईले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । सोमवार ६७औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।
महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरु अझैपनि अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको भन्दै आम नागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराइ प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्न आग्रह गरे ।
उनले भने, ‘गत वर्ष आम नागरिकबाट १९१ रोपनीभन्दा बढी जग्गा प्राप्त गरेका छौँ । सबै प्रहरी इकाईले आफ्नै भवन प्रयोग गरी बसेर सेवा दिन पाइरहेका छैनन्,अहिले पनि धेरै प्रहरी कार्यालय, ब्यारेक भाडा वा अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएकाले आम नागरिकले दिनुभएको जग्गाको समुचित प्रयोग गरी निजी कार्यालय र कार्यालय स्थापनाका लागि गृह मन्त्रालयबाट आवश्यक पहल हुने अपेक्षा गरेको छु ।’
उनले नेपाल प्रहरीले ३२ सय बढी प्रहरी इकाईहरुमार्फत सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था रहेको बताए । उनले नेपाल प्रहरी सामाजिक सञ्जालमार्फत करिव २६ लाख भन्दा बढीसँग भर्चुअल्ली जोडिएको बताए ।
‘कुल ३२ सय बढी प्रहरी इकाईहरुमार्फत सेवा प्रवाह गर्दै आएका नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था हो । हामी सामाजिक सञ्जालमार्फत करिव २६ लाख भन्दा बढीसँग भर्चुअल्ली जोडिएका छौँ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत वर्ष कुल अपराध दर्ता संख्यामा १७ प्रतिशतले वृद्धि भएको छ । यद्यपी संगठित अपराधका घटनामा उल्लेख्य कमी आएको छ । आर्थिक अपराधका घटनामा केही बढोत्तरी भएको छ ।’ उनले भने ।
महानिरीक्षक सिंहले आर्थिक अपराधका घटनामा केही बढोत्तरी भएको उल्लेख गर्दै आर्थिक अपराध र अपराधीप्रति संगठनले लिएको कठोर नीतिप्रति प्रहरीको भरोसाले अपराध सहेर बसेका पीडितहरु पनि प्रहरी कार्यालयमा आएर निवेदन दर्ता गर्ने शाहसका लागि सक्षम भएको विश्लेषण गरेको बताए । उनले गत वर्ष नेपालमा अपराध गरी विश्वका विभिन्न स्थानमा लुकेर बसेका १७ जनालाई पक्राउ गरेको र यसवर्ष पनि हालसम्म कतार र मकाओबाट ७ जनालाई पक्राउ गरी कानूनी कारबाही चलाएको बताए ।
महानिरीक्षक सिंहले गत वर्ष ११ हजार ५ सय किलो गाँजा र चरेस, ६९ किलो हिरोइन र ५० किलो अफिम बरामद गरी २२१ जना विदेशीसहित ५ हजार ७७९ जनालाई कानूनी दायरामा ल्याएको बताए । उनले यो एक वर्षको अवधिमा हालसम्मकै सबैभन्दा ठूलो परिणममा बरामद भएको हिरोइन रहेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा गत वर्षको राजश्व संकलनमा पनि ४३ प्रतिशतले वृद्धि भएको बताए । उनले गत वर्ष नेपाल प्रहरीले ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको पनि जानकारी गराए ।
साथै महानिरीक्षक सिंहले निर्वाचन सुरक्षाको दीर्घ अनुभवको सदुपयोग गरी प्रभावकारी प्रहरी तथा म्यादी प्रहरी परिचालन, उत्कृष्ट अन्तरनिकाय समन्वयका साथै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संरक्षण गर्नेमा प्रहरी प्रशासन प्रतिवद्ध रहेको बताए ।





























प्रतिक्रिया