प्रहरीको जिम्मेवारीलाई त्रुटीरहीत बनाउन महानिरीक्षक सिंहको निर्देशन

प्रहरीको जिम्मेवारीलाई त्रुटीरहीत बनाउन महानिरीक्षक सिंहको निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटीरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । 

आईतवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभुत तालिम १–१८१ औँ समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटीरहित तवरले सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको बताए । 

उनले भने– ‘कानूनले निर्दिष्ट गरेको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन म निर्देशन गर्न चाहन्छु । गैरकानूनी तथा अपराधिक क्रियाकलापबिरुद्ध थप निर्मम हुन पनि निर्देशन गर्न चाहन्छु । तपाईले कर्तव्य निर्वाहको क्रममा असल नियतले गरेका हर कानूनसम्मत निर्णयमा संगठन तपाईका पक्षमा उभिनेछ । यसका लागि म प्रतिवद्धता पनि व्यक्त गर्दछु । तपाईले कार्यक्षेत्रमा पाइला राख्दै गर्दा मुलुक निर्वाचनमय भइसकेको छ । निष्पक्ष, शान्तिपूर्ण, भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपाल सरकारले नेपाल प्रहरीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ । तपाईहरु वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा खटिने मौका प्राप्त गरिसक्नुभएको छ । आगामी निर्वाचनमा पनि आफूलाई प्राप्त जिम्मेवारीलाई निष्पक्ष, त्रुटीरहित तवरले सम्पन्न गर्न यसै अवसरमा निर्देशन गर्न चाहन्छु ।’
 
महानिरीक्षक सिंहले ‘चेन अफ कमाण्ड’ नेपाल प्रहरीले अवलम्वन गर्दै आएको व्यवसायिक संस्कृति भएको उल्लेख गर्दै यसको परिधिभन्दा बाहिर नजान आग्रह गरे । यस संस्कृतिको प्रवद्र्धन गरी अक्षुण राख्नु सबैको कर्तव्य भएको उनले उल्लेख गरे । 

उनले भने ‘नेतृत्व विकास प्रहरी निरिक्षक तालिमको अभिन्न अंग हो । यो तालिमले तपाईलाई नेतृत्व क्षमतालाई अभिवृद्धि गरी कठिन समयमा उपयुक्त निर्णय लिने मात्र नभई आफू मातहतका दर्जालाई उत्प्रेरित गरी तोकिएको जिम्मेवारी सम्पन्न गर्ने क्षमता प्रदान गरेको मैले विश्वास गरेको छु । चेन अफ कमाण्ड नेपाल प्रहरीले अवलम्वन गर्दै आएको महत्वपूर्ण प्रोफेशनल कल्चर हो । हाम्रा हरेक कार्यशैली यसको परिधिभन्दा बाहिर जान सक्दैनन् । यो कल्चरको प्रवद्र्धन गरी अक्षुण राख्नु हामी सबैको कर्तव्य हो । चेन अफ कमाण्ड बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पनाप्रति संगठन कठोर छ । व्यवसायिकता, उत्कृष्टता, निष्ठा र इमान्दारीको उच्चतम स्तर कायम गरी कार्यक्षेत्रमा आफूलाई प्रश्तुत गर्न म निर्देशन गर्न चाहन्छु ।’
 
महानिरीक्षक सिंहले प्रविधिजन्य समस्याहरु समाधानका लागि प्रविधिमैत्री र प्रविधिको विकासप्रति अद्यावधिक हुन आग्रह गरे । उन साइबर क्राइम, क्रिप्टो करेन्सी लगायत आर्थिक अपराधहरु बढेको भन्दै त्यसप्रति सचेत रहन पनि निर्देशन गरे । अपराधहरुमा संलग्न व्यक्तिको पहिचान, त्यसको प्रभाव, पीडितको पहिचान, अन्तरनिकाय समन्वय, पीडितलाई क्षतिपूर्ति, पीडकलाई कारबाही गर्ने दायित्व वहन गर्न उनले प्रहरीहरुलाई आग्रह गरे ।  

Logo