नक्कली करारनामा बनाई साढे ४ करोड ठगी गर्ने एक जना पक्राउ

नक्कली करारनामा बनाई साढे ४ करोड ठगी गर्ने एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नक्कली करारनामा बनाई नगद ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–१७ घर भई सोही महानगरपालिका–१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारी छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार अन्सारीले काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएर घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा उक्त नक्कली करारनामा पेश गरेका थिए । 

उनले नक्कली करारनामा पेश गरी हिमालयन होटेल प्रालि नामक कम्पनी दर्ता गरेर उक्त होटलमा लगानी गर्नको लागी भन्दै पटकपटक रकम ठगी गरेको प्रहरीले जनाएको छ । 

अन्सारीलाई वीरगन्ज महानगरपालिका८ प्रतिमाचोकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

Logo