रौतहटमा दुई जना स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरू बीच झडप भएको छ ।
जिल्लाको क्षेत्र नं–३ मा पर्ने कटहरियामा दुई जना स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरू बीच झडप हुँदा हवाई फायर समेत भएको छ । बुधबार राति करिब साढे ९ को समयमा कटहरिया नगरपालिकाको वडा नं– ५ कटहरिया बजार स्थित शान्ति पेट्रोल पम्प अगाडि मुख्य सडकमा रौतहट क्षेत्र नं–३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल र प्रदेशसभा स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाका समर्थकबीच वाद विवाद भइ दुवै पक्षका कार्यकर्ता जम्मा हुँदा झडप भएको थियो ।
झडप नियन्त्रणमा लिन नेपाल प्रहरीले ४ राउण्ड अश्रुग्यास र सशस्त्र प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको थियो । प्रहरीका अनुसार दुवै पक्षका समर्थकहरु मदिरा सेवन गरी एक अर्काको उम्मेदवारलाइ अशभ्य भाषा प्रयोग गर्न थालेपछि विवाद शुरु भएको थियो । झडपमा संलग्न दुवै पक्षले एक अर्कालाई चुनावमा पैसा र मदिरा बाँडेको आरोप लगाएका छन् । झडपमा परी तीन जना प्रहरी सामान्य घाइते भएको कटहरिया प्रहरी चौकीले जनाएका छन् ।





























प्रतिक्रिया