विश्वकपमा सट्टेबाजी गराउने अर्का युवक पक्राउ, झण्डै आठ करोडको कारोबार

विश्वकपमा सट्टेबाजी गराउने अर्का युवक पक्राउ, झण्डै आठ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

वान एक्स बेटमार्फत सट्टेबाजी गराउने अर्का युवक पक्राउ परेका छन् । फिफा विश्वकपलगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा बेटिङ एप्लिकेसनलगायतका एप्समार्फत सट्टेबाजी गराई रकम संकलन गराउने कार्य गरिरहेको सूचनाका आधारमा प्रहरीले बिहीबार काठमाडौंको कमलपोखरीबाट लमजुङको सुन्दरबजार घर भएका सुजन गौलीलाई पक्राउ गरेको हो । 

उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा गौलीले इसेवा, आईएई पे, खल्ती एप्स तथा विभिन्न बैंकिङ प्रणालीमार्फत हालसम्म दुई करोड ३६ लाख ३३ हजार बराबरको कारोबार गरिएको देखिएको प्रहरीले जनाएको छ । यस्तै, अन्य २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत सात करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ ।

प्रहरीले उनको साथबाट आईफोन एक थान, सामसुङ कम्पनीको मोबाइल एक थान, एनटिसीको मोबाइल सिमकार्ड दुई थान, एनसेलको दुई थान, स्मार्टको सिमकार्ड एक थान, युएईको सिमकार्ड एक थान, नबिल बैंकको चेक र ग्लोबल आईएमई बैंकको भिसा कार्ड एक थानसमेत बरामद गरेको एसपी कोइरालाले भने ।

यसअघि प्रहरीले वानएक्स बेटिङ गरेको आरोपमा महोत्तरी गाउँपालिका-१ का आदर्श ठाकुरलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको थियो । उनले विभिन्न बैंकमार्फत सट्टेबाजी गर्ने क्रममा २ करोड बढी रुपैयाँ वालेटबाट रकमान्तर गरेको अनुसन्धानमा खुलेको थियाे । 

Skip This
Skip This
Logo