कैलालीमा नक्कली नोट र बाघको हड्डीसहित ५ जना पक्राउ

कैलालीमा नक्कली नोट र बाघको हड्डीसहित ५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडिबुडीसहित पाँच जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–४ बसपार्क र १३ को राजपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साल्ट ट्रेडिङ कर्परेसन अगाडी नक्कली मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा एक हजारका चार नोटसहित चुरे गाउँपालिका–६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनकाअनुसार अनुसन्धानका क्रममा एक हजार दरका थप १३८ नोटसहित अन्य चार जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा राजपुरस्थित एस एस होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका–६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका–१० का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका–१ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन् ।

यस्तै, जपुरमै डेरा गरेर बस्ने धामीको कोठा खानतलासी पलङ खटियाको सिरानीमुनि लुकाएर राखेको अवस्थामा १३८ थान नक्कली नोट, जेब्रा झोलामा बाघको जस्तो करीब साढे ५ किलो देखिने अस्थीपंजर हड्डी र प्लाष्टिकभित्र लुकाएको अवस्थामा प्रतिबन्धित जडिबुडी पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo