सुन तस्करी प्रकरणः राजस्व विभागले थप अनुसन्धान गर्न प्रहरीलाई सुम्पियो फाइल

सुन तस्करी प्रकरणः राजस्व विभागले थप अनुसन्धान गर्न प्रहरीलाई सुम्पियो फाइल

केन्द्रबिन्दु
0
Shares

राजस्व अनुसन्धान विभागले एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिएको छ । 

विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई जिम्मा लगाएको हो । अनुसन्धान गर्दै जाँदा संगठितरूपमा सुनको तस्करी गर्ने तथा व्यापार गर्ने विषय नेपालमा प्रचलित कानूनअनुसार संगठित अपराधसम्बन्धी ऐन आकर्षित हुने देखिएकोले विभागले थप अनुसन्धान गर्न सिआइबीलाई फाइल बुझाएको हो । 

विभागका महानिर्देशक नवराज ढुङ्गानाले विभागबाट एक चरणको अनुसन्धान गरिएको र संगठितरूपमा सुनको तस्करी गर्ने तथा व्यापार गर्ने विषय नेपालमा प्रचलित कानूनअनुसार संगठित अपराधसम्बन्धी ऐन आकर्षित हुने भएकाले प्रहरीलाई पनि सामेल गराउँदा बढी यथार्थपरक हुने निर्णय गरेकाे जानकारी दिए ।  

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो । उक्त घटनामा एक जना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेको थियो । अहिलेसम्म उक्त प्रकरणमा संलग्न रहेको आरोपमा १७ जनालाई पक्राउ गरी विभागले अनुसन्धान गरिरहेको छ, जसमा १४ नेपाली, १ जना चिनियाँ, १ जना भारतीय र १ जना बेल्जियम नागरिक छन् ।  एकजना नेपालीलाई भने चाहिएको बेला उपस्थित हुने शर्तमा छाडिएको छ ।

साउन ३ बाट सुरु यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुगेको छैन । अब प्रहरीले विशेष ब्युरो, साइबर ब्युरो र अन्य युनिटका विशेष टोलीलाई पनि अनुसन्धानमा खटाइने तयारी गरेको छ । 

Logo